arrow

अधिवक्ता थारूलाई बिचौलीको आरोप लगाएर पक्राउ गर्दा चौतर्फी विरोध 

logo
सौरभ गिरी,
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
banke-cdo-pic.jpeg

नेपालगञ्ज । बिचौलीको आरोप लगाउँदै अधिवक्ता सतिशचन्द्र थारूलाई नियन्त्रणमा लिइएपछि सर्वत्र चर्को विरोध भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल नेतृत्वको टोलीले आइतबार आफ्नो पेशागत व्यावसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धी मुद्दाको कामका लागि भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुरमा प्रवेश गरी बस्तुगत आधार प्रमाण बेगर बिचौलीको आरोप लगाई थारूलाई नियन्त्रणमा लिएको भन्दै कानून व्यवसायी, मानव अधिकारकर्मी र अन्य पेशागत संगठनहरुले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

नेपालगञ्ज उच्च अदालत बारका कार्यसमिति सदस्यसमेत रहेका अधिवक्ता थारूलाई पक्राउ गरिएपछि नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनले गम्भीर आपत्ति प्रकट गरेको छ । 

थारूमाथि लगाइएको झूठा मुद्दा फिर्ता लिई तत्काल रिहाई गर्न माग गरिएको छ । अध्यक्ष चित्रबहादुर शाही र सचिव गणेशप्रसाद शर्माले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

यस्तै नेपाल बारका पूर्व उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, प्रल्हादबहादुर कार्की, नेपालगञ्ज उच्च बारका अध्यक्ष शाही, पूर्व अध्यक्ष लोकबहादुर शाह, बलबहादुर चन्द, विकास आचार्य, पूर्व सचिव पदम पाण्डे, एड्भोकेसी फोरमका लुम्बिनी संयोजक बसन्त गौतम, इन्सेकका लुम्बिनी संयोजक भोला महत, गैरसरकारी संस्था महासंघ बाँके अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकालले संयुक्त विज्ञप्ति निकालेर उक्त घटनाको घोर भत्सर्ना गर्दै अधिवक्ता थारूलाई तत्काल रिहाई गर्न माग गरेका छन् । 

कानूनले तोकेको विधि र प्रक्रियासमेत पालना नगरी अभद्र व्यवहारको मुद्दा दर्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ । पेशागत व्यवसायिक कामका सिलसिलामा अर्धन्यायिक निकायमा उपस्थित भएका कानून व्यवसायीलाई बिचौलीको आरोप लगाई बनावटी अभद्र व्यवहार मुद्दा दर्ता गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘पक्राउ परेका कानून व्यवसायी थारूलाई घरपरिवारका मानिस, कानून व्यवसायी तथा बारका पदाधिकारी समेतसँग भेटघाटसमेत गर्न नदिई हिरासतमा राखिएको जानकारी प्राप्त भएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र कानूनतः सार्वजनिक सरकारी अड्डा अदालत, न्यायिक अर्धन्यायिक निकायमा उपस्थित भई सेवाग्राहीको तर्फबाट बहस पैरवी र वकालत गर्न पाउने कानून व्यवसायीको अधिकार नेपाल कानूनले नै प्रदान गरेकोमा पेशागत कार्यका लागि भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुरमा उपस्थित र आफू कानून व्यवसायी भएको भनी नेपाल कानून व्यवसायी परिषदबाट जारी भएको परिचय पत्र देखाउँदासमेत गैरकानूनी रूपमा पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

यस्ता घटना रोक्न र गैरकानूनी रुपमा बन्दी बनाइएका अधिवक्ता थारूलाई तत्काल बिना शर्त रिहाई गर्न र निज उपर लगाएको हचुवा एवं झूठा मुद्दा फिर्ता लिनसमेत माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ