arrow

पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
pokhara-sports-awards.jpg

पोखरा । क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता वर्ष खेलाडी घोषित हुँदै जनही एक/एक थान स्कुटर, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का परेका थिए ।

यसैगरी महिलामा सुस्मितासहित आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा थिए ।

उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे । उनीसँगै मनोनयनमा परेका टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजुलाई पछि पारेका केसीले नगद रु ३५ हजारसहित ट्रफी पुरस्कार पाए ।

१७ वर्षमुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानामगरले प्राप्त गरिन् । उनले अवार्डसँगै नगद रु ३५ हजार र ट्रफी र मेडल पाइन् । यस विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए ।

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ एथलेटिक्सका प्रशिक्षक इन्द्रा मल्लले प्राप्त गरिन् । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्डबाट सहारा क्लब पोखरा सम्मानित भयो ।

वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट पत्रकार रोहितराज पराजुली सम्मानित भए ।

वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्फका अवार्ड विजेताले नगद रु ३५ हजारका साथमा अवार्ड पाए ।

यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेसल) अवार्डबाट सम्मान गरिएको थियो ।

मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरेको हो । खेलकुद विधामा कलम चलाउँदै आएका ७४ जना पत्रकार हाल मञ्चमा आबद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ