arrow

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
sauraha-chitwan.jpg
फाइल तस्वीर

चितवन । सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका  छन् ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई सरकारले अहिलेसम्म पर्यटन क्षेत्र घोषणा गरी पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको जनाउँदै व्यवसायीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारी पहल थालनीका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहा, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन, वल्र्ड एजुकेसन सोसाइटी र साना पर्यटन व्यवसायी संस्थाले संयुक्तरुपमा गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

पर्यटकीय नगरी सौराहासहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणाका लागि कैयौँ पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाइएको तर अहिलेसम्म राज्यको निकायबाट सोसम्बन्धी कुनै कारबाही अगाडि नबढेकाले सम्बन्धित मन्त्रालयमार्फत पर्यटन क्षेत्र घोषणाका लागि आवश्यक पहल तथा समन्वय गर्न गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाइएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरिले बताए । 

देशको अर्थतन्त्रलाई बलियो बनाउनाका साथै स्थानीयलाई रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटनले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरिएको अध्यक्ष गिरिको भनाइ छ ।  

ध्यानाकर्षणपत्रमा कोरोनापछि पर्यटन क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गर्दै पर्यटन क्षेत्र घोषणा भए सौराहाको पर्यटन चलायनमान हुने विश्वास व्यक्त गरिएको छ । 

सौराहा तथा समग्र चितवन भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक पूर्णरुपमा सुरक्षित भई सौराहा तथा चितवन भ्रमण गरी फर्किने वातावरण सिर्जना गर्न सौराहास्थित बछौली प्रहरी चौकी कार्यालयलाई साधन स्रोतको सुविधा सम्पन्न तथा चुस्त-दुरुस्त गराई शान्ति सुरक्षा व्यवस्था कायम गर्न, पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता प्रदान गर्न, समग्र चितवनवासी तथा पर्यटन प्रवर्द्धनका लागि रात्रिकालीन हवाई उडानको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

साथै चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको हुँदा यसलाई लम्ब्याइ कम्तीमा पाँच दिनसम्म लागू गर्न आग्रह गर्दै व्यवसायीहरुले जसबाट हाल जम्मा भइरहेको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि हुने विश्वास समेत दिलाएका छन् ।

ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लामिछानेले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्ने मागका विषयमा आफूले सक्दो प्रयास गर्ने र चाँडोभन्दा चाँडो काम अगाडि बढाउने आश्वासन दिएको अध्यक्ष गिरीले जानकारी दिए ।

अध्यक्ष गिरिका अनुसार सौराहामा एक सय ५० होटल तथा एक सयभन्दा रेष्टुरेन्ट त्यसैगरी सफारीमा प्रयोग हुने ६० वटा हात्ती व्यवसायी र लगभग चार सय ८० जना पथप्रदर्शकलगायत चार हजार पाँच सयजना प्रत्यक्ष कर्मचारीले रोजगार, एक सय ५० भन्दा बढी साना पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ