- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले सीमित स्रोत र साधनकाबीच सरकार पर्यटन प्रवर्द्धनमा लागेको बताएका छन् ।
रसुवा-नुवाकोट पर्यटन समाजद्वारा आयोजित ‘रसुवा र नुवाकोटका पर्यटकीय सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रममा उनले थोरै बजेटकाबीच सरकारले पर्यटन प्रवर्द्धमा काम गरिरहेको स्पष्ट पारे ।
“पर्यटन क्षेत्रमा विदेशीलाई मात्र लक्षित गरेर योजना बनाएर हुँदैन, आन्तरिक पर्यटकलाईसमेत प्रवर्द्धन गर्ने खालको योजना आवश्यक छ,” उनले भने ।
मन्त्री तामाङले नेपालको विकासको मुख्य आधार जलस्रोत र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे ।
रसुवा र नुवाकोटको पर्यटन विकासमा सहयोग गर्ने उनको भनाइ थियो । मन्त्री तामाङले मध्यपहाडी सडक आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सरकारले राखेको बताए ।
छोटो दुरीका पर्यटक गन्तव्यको विकासमा मन्त्रालय लागेको उनको भनाइ छ । उनले सरकारले कर्णाली प्रदेशको पर्यटनलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरे ।
सहसचिव रुद्रसिंह तामाङले नुवाकोट र रसुवामा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र रहेकाले त्यसको प्रवर्द्धनमा तीनै तहका सरकार लाग्नुपर्ने उल्लेख गरे ।
नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पर्यटकीय गन्तव्य भएका क्षेत्रको खोज र अनुसन्धान गरी त्यसको विकासमा नगरपालिकाले काम गरिरहेको उल्लेख गरे ।
नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिका स्थानीय संस्कृति संरक्षणमा लागेको बताए ।
नुवाकोटको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले होमस्टेको विकासका लागि गाउँपालिकाले काम गरिरहेको उल्लेख गरे ।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शिवपुरी क्षेत्रसँग जोडिएको आफ्नो गाउँपालिकाको पर्यटकलाई अगाडि बढाउनका लागि गाउँपालिका लागिपरेको बताए ।
नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले तादीलाई पर्वतीय पर्यटनको केन्द्र बनाउनका लागि आफूले योजना अगाडि सारेको उल्लेख गरे ।
पर्यटन व्यवसायी दीपक महतले सगरमाथा र अन्नपूर्ण क्षेत्रपछि धेरै पर्यटक आवतजावत गर्ने लाङटाङ क्षेत्रको पर्यटन जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यो बढ्न नसकेको बताए ।
विसं २०६७ मा स्थापना भएको रसुवा-नुवाकोट पर्यटन समाजले रसुवा र नुवाकोट क्षेत्रमा रहेका पर्यटकीयस्थलको खोज, अनुसन्धान गरी पर्यटन प्रवर्द्धनमा काम गरिरहेको सो समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।
अध्यक्ष न्यौपानेले पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गरी आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि समाज लागेको बताए ।
समाजकी सचिव ऋतु ग्यामदाङले घलेगढी, सूर्यगढी, बेलकोटगढी, बेत्रावती, गोसाइँकुण्ड, नुवाकोट दरबारलगायतका क्षेत्रको पर्यटन प्रवर्द्धमा जुट्न नुवाकोट र रसुवाका पर्यटन व्यवसायीलाई आग्रह गरे । रासस