arrow

पौडेलको आरनको आगो सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
aaranko-aago.jpg

काठमाडौँ । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार भएको एक कार्यक्रममा लेखक पौडेलको दोस्रो कृति आरनको आगो सार्वजनिक भएको हो । 

उनको पहिलो पुस्तक कथा सङ्ग्रह डायनकी छोरी हो । दोस्रो कृतिका रूपमा रहेको यस सङ्ग्रहमा २१ कथा समेटिएका छन् । कथाहरूमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उनको भनाइ छ ।  

“विशेषगरी हराउँदै जान थालेका गाउँघरतिरका परम्परागत कुरामा सञ्जीवनी छर्कँदै वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने प्रयास गरको छु”, उनले भने, “मैले सबै कथामा हाम्रो सामाजिक परिवेश र विषम परिस्थितिको पिँधमा रहेर सुनेको, जानेको र भोगेको कुरा सकभर मर्न नदिइ जीवन्त बनाउने प्रयास गरेको छु ।”

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गरे । राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने  धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्छ भने । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा तुलसी भट्टराईले लेखक पौडेलको यस कथा सङ्ग्रहका अधिकांश कथाले समयको सत्य उजागर गर्न सामाजिक यथार्थमा आधारित भएको चर्चा गरे । 

उनले भने, “लेखक पौडेलको कथामा माओवादीको सशस्त्र द्वन्द्वको विषय छ, सामाजिक विकृति छ र विदेश जाने मोह पनि छ । कतिपय कथामा प्रेमलाई च्वास्स छोइएको छ । त्यसकारण पनि यसभित्रका अधिकांश कथाले समयको उजागर गरेको छ ।”

कथा सङ्ग्रहबारे समीक्षा गर्दै लेखक एवम् पत्रकार लक्ष्मण अधिकारीले वर्तमान कथा लेखन शैलीमा अलि फरक धारका विषयवस्तु समेटिएको बताए । उनले भने, “यस कथा सङ्ग्रहमा वर्तमान पुस्तालाई रोचक र कौतुहलपूर्ण लाग्ने ग्रामीण क्षेत्रका लुप्त हुन लागेका चलन एवम् परम्परालाई पुर्नजीवन दिने प्रयत्न गरिनुका साथै सामाजिक विकृति र विसङ्गतिविरुद्ध रापिलो मुस्लो ओकल्ने प्रयत्न पनि गरिएको छ ।”


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ