arrow

कञ्चनपुरको न्यायिक समितिमा न त इजलास, न त कर्मचारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
Kanchanpur.jpeg.jpeg
तस्बिर-फाइल

कञ्चनपुर । कञ्चनपुरका न्यायिक समिति संयोजकहरूले स्थानीय तहमा न्याय सम्पादन गर्न इजलास र जनशक्ति अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको बताएका छन् ।

राष्ट्रिय महिला आयोगले महेन्द्रनगरमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा यहाँका न्यायिक समिति संयोजकहरूले इजलास र जनशक्ति अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गरे ।

अन्तरक्रियामा बेदकोट नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक तुलसी जोशीले न्यायिक समितिमा कानुन अधिकृत, उजुरी प्रशासकलगायत जनशक्ति र छुट्टै न्यायिक कक्षको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको बताइन् ।

“न्याय सम्पादनका लागि भौतिक संरचनाको अभाव छ, उपप्रमुखकै कार्यकक्षमा छलफल गराउनुपर्ने बाध्यता छ,” उनले भनिन्, “कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा अर्को चुनौती थपिएको छ ।” उनले अहिले वडास्तरसम्म मेलमिलाप केन्द्र सञ्चालन गरेर विवाद गाउँमै मिलाउने प्रयास भइरहेको जानकारी दिइन् ।

त्यसैगरी, कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक भुलियाकुमारी रानाले न्यायिक समितिलाई ठूलो चुनौती रहेको बताइन् ।

“मेलमिलापकर्ताहरू सक्रिय छैनन् त्यसैमा कानुन अधिकृत नहुँदा पनि चुनौती थपिएको छ”, उनले भनिन्, “चालु आर्थिक वर्षमा समितिमा आएका एक सय ४१ मुद्दा निरुपण गरेका छौँ ।”

उनले न्यायिक समितिमा थुप्रै चुनौती रहेको बताउँदै रानाले मेलमिलापकर्ताको सक्रियता आवश्यक रहेको बताइन् ।

“गाउँघरका सामान्य विवाद, झगडा मिलाउन वडा तहसम्म समितिलाई सक्रिय बनाउनुपर्छ,” उनले भनिन्, “न्यायिक समितिको कार्यविधिमा संशोधन गरे न्यायिक समितिलाई अझ सहज हुन्छ ।” उनले न्यायिक समिति बलियो  अदालत, प्रशासनको कार्यभार पनि घट्ने बताउनुभयो ।”

महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला आयोगले न्यायिक समितिका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने बताइन् । 

उनले महिला आयोगलाई पूर्ण अधिकार प्राप्त नभएको बताउँदै आयोगलाई प्रदेशस्तरसम्म ल्याउनुपर्ने बताइन् । 

“महिला तथा बालबालिका विकास कार्यालय पनि स्थानीय तहमा लगेर एउटा कर्मचारीको भरमा राखिएको अवस्था छ,” उनले भनिन्, “५१ प्रतिशतभन्दा बढी महिलाको जनसङ्ख्या भएको ठाउँमा महिला आयोगलाई भूमिका कम दिइयो ।”

संविधानको धारा, २१७ मा आफ्नो अधिकार क्षेत्र विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ । 

जिल्लाका सबै स्थानीय तहमा न्यायसम्बन्धी जानकार कर्मचारी नहुँदा न्यायिक समितिलाई मेलमिलाप गर्न समस्या हुने गरेको छ । 

अहिले न्यायिक समितिमा आपसी झैझगडा, कलह सामाजिक द्वन्द्व घरायसी झैझगडाका मुद्दा आउने गरेका छन् ।

उपप्रमुखलाई सामाजिक क्षेत्रबाट राजनीतिमा आएकाले कानुनसम्बन्धी सबै कुराको जानकारी नहुने र न्यायिक सल्लाहकारको खाँचो रहेको देखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ