- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन्।
उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर कांग्रेसले आज आफू विरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले कांग्रेसको आजको संसद्को गतिविधि नेपालको इतिहासमा कलंकको रूपमा स्थापित हुने बताए ।
उनले भने, ‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खास गरी नेपाली कांग्रेसका सबै मान्य सदस्यहरूलाई भन्न चाहन्छु, तपाईँहरूले आज गलत गर्नुभयो । तपाईँहरूले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईँहरूले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरे । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईँहरूले नेपाली कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईँहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रूपमा ।