arrow

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
mahaprasad-adhikari-01-14.jpg
तस्बिर-फाइल

कर्णाली । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए । उनले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताए ।

गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा लिने एक जना मात्र भेटिए । हामीले प्रत्येक बैंकबाट पाँच जनालाई कर्जा दिने व्यवस्था गरेका छौँ ।”

लघुवित्त संस्थामा ६० लाख सदस्य आबद्ध रहेको उल्लेख गर्दै उनले ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको बताए ।

“कर्णालीमा वित्तीय साक्षरता आवश्यक छ । ऋण लिनेहरु कहिल्यै पीडित हुँदैनन । ऋणीहरुलाई गुनासो राख्ने डेस्क बनाइएको छ”, गभर्नर अधिकारीले भने । उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै उनले साना व्यवसायीलाई कर्जा दिन सहज व्यवस्था गरिएको उल्लेख गरे ।

प्रत्येक व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै गभर्नर अधिकारीले बैंकर्स र व्यवसायीबीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताए ।

छलफलमा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायी डुबेर पलायन हुने र आत्महत्या गर्नुपर्ने समस्या एवं चुनौती दिनानुदिन बढ्दै गएको भन्दै आर्थिक सुधारका लागि मौद्रिक नीति उद्योगी तथा व्यवसायीमैत्री ल्याउन राष्ट्र बैंकलाई अनुरोध गरे ।

छलफलमा सुर्खेतस्थित बैंकका प्रबन्धक, लघुवित्त तथा औद्योगिक ग्राम सञ्चालक, सरकारी निकायका प्रमुख, उद्यमी, व्यवसायीलगायतको सहभागिता रहेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ