arrow

दुबईको ‘एभरेष्ट १००’ रेष्टुरेन्टको झण्डा सगरमाथाको चुचुरोमा

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
everest-restaurant-everest.jpg

मोरङ । यूएईको लोकप्रिय नेपाली रेष्टुरेन्ट ‘एभरेष्ट १०० रेष्टुरेन्ट’ को झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फर्फराइएको छ ।

नेपालका चर्चित डिजे तेन्जिङ शेर्पाले यूएईको एभरेष्ट ग्रुप अफ कम्पनिजद्वारा सञ्चालित एभरेष्ट १०० रेष्टुरेन्टको झण्डा सर्वोच्च शिखरमा फरफराएका हुन् ।

‘स्टप ग्लोबल वार्मिङ , सेभ द हिमालय’ भन्ने नारासहित गएको अप्रिल ७ मा सगरमाथा आरोहण शुरु गरेका शेर्पाले गत मंगलबार सर्वोच्च शिखरको चुचुरोमा पाईला टेकेका हुन् । नेपालका विभिन्न स्थानहरुमा लामो समयदेखि सांगीतिक कार्यक्रमहरु गर्दै हिँडेका डिजे तेन्जिङ सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् ।

पछिल्लो समय जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनमा पारेको असरहरुबारे जागृत गराउन आफूले अभियानको रूपमा सगरमाथा आरोहण गरेको शेर्पाले बताए ।

सोलुखुम्बु निवासी तेन्जिङलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको झण्डा दिएर शुभकामनासहित सगरमाथा आरोहणका लागि बिदाइ गरेका थिए ।

सगरमाथामा पहिलो नेपाली रेष्टुरेन्टको झण्डा

सर्वोच्च शिखरमा आफ्नो रेष्टुरेन्टको झण्डा फर्फराएपछि एभरेष्ट ग्रुप अफ कम्पनिजका सञ्चालक पासाङ शेर्पाले खुशी व्यक्त गरेका छन् ।

‘प्रवाशमा नेपालीद्वारा सञ्चालित रेष्टुरेन्टहरु मध्ये सम्भवत हाम्रो रेष्टुरेन्टको झण्डा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेको छ । यो अत्यन्तै खुशी र गौरवको कुरा हो । हिमालसँगै जोडिएको समुदायको नाताले पनि म अत्यन्तै हर्षित छु’, शेर्पाले भने ।

यूएईमा सन् २०१० बाट सञ्चालनमा आएको एभरेष्ट १०० रेष्टुरेन्ट २०२४ को शुरूआतदेखि एनआरएनए ग्लोबलका अध्यक्षसमेत रहेका पासाङ शेर्पाले सञ्चालन गर्दै आएका छन् । एभरेष्ट ग्रुप अफ कम्पनिजमा हाल ३ वटा रेष्टुरेन्ट र विभिन्न क्षेत्रका ८ कम्पनी सञ्चालनमा रहेको शेर्पाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ