arrow

स्वतन्त्र प्रेस बिना स्वतन्त्र न्यायपालिकाको कल्पना गर्न सकिँदैन- प्रधानन्यायाधीश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
biswambar-prasad-shrestha-03-12.jpg

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले न्यायपालिका र सञ्चार जगत लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भहरु भएको बताए । 

उनले न्यायपालिका र सञ्चार जगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न नसक्ने बताए । उनले नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एक अर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रूपमा लिने गरिएको बताए । 

उनले न्यायपालिका र सञ्चार क्षेत्रको भूमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य, उद्देश्य एउटै रहेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले  न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने संस्था भएको बताए । उनले न्यायपालिकाको जिम्मेवारी, भूमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुने भएकाले न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत लगायत संवद्ध सबैमा सोहीअनुरूपको दृष्टिकोण रहनु वाञ्छनीय हुने बताए । 

उनले न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश रहेको बताए । स्वतन्त्र न्यायपालिकाका मूल्य, मान्यतालाई अक्षुण्ण राख्नुपर्ने बताए । नागरिकको अपेक्षाअनुरूपको नतिजामुखी कार्य सम्पादन तथा विश्वस्त हुनसक्ने वातावरणको निर्माण अहिलेको प्रमुख आवश्यकता र चुनौती भएको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको आवाज भनेकै सञ्चारमाध्यम भएको बताए । उनले सञ्चारमाध्यमबाटै न्यायपालिकाको काम कारबाही र फैसलाको यथार्थ अवस्था आम नागरिकसमक्ष पुग्ने बताए । उनले न्यायपालिका र न्यायिक काम कारबाहीसँग सम्बन्धित समाचार र सूचना सम्प्रेषण गर्दा सोही अनुरूपको संवेदनशीलता र गम्भीरता आवश्यक हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ