arrow

दाउन्नेमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग ठप्प, सास्ती ब्यहोर्दै यात्रु

logo
नारायण वली, 
प्रकाशित २०८१ जेठ १५ मंगलबार
daimnme-81-2-15.jpg

लुम्बिनी । गएराति परेको वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ । पानीले दाउन्ने बजार नजिकै सडक भासिएको र दाउन्नेदेखि पूर्व विश्वकर्मा मन्दिर नजिकै डाइभर्सन बगाउँदा राति साढे ११ बजेदेखि सवारी आवागमन ठप्प भएको छ ।   

लामोदूरीका सवारीहरु दाउन्ने क्षेत्रमा जाममा परेका छन् । सडक नखुल्दा सवार यात्रुहरुले निकै सास्ती खेप्नु परेको बुटवलबाट काठमाडौँका लागि हिँडेकी सृष्टि थापाले बताइन् । 

उनी भन्छिन्, ‘मेरो आज बेलुका ७ बजेको जापानको फ्लाइट छ । अहिले बिहानको पौने ८ बजिसक्यो कतिबेला काठमाडौँ पुगिने हो अत्तोपत्तो छैन ।’

अर्का यात्रु रोशन क्षेत्री भन्छन्, ‘म बिरामी लिएर काठमाडौँ जाँदैछु । हिजो राति साढे ८ बजे बसमा चढेको हुँ, अहिलेसम्म जाममा छु । बिरामी दुःखाइले रोइरहेको छ ।’

 बिरामीलाई देवदहबाट काठमाडौँका लागि लैजाँदै गरेका क्षेत्री बिरामी बेलाबेलामा बेहोश हुने भएकाले आफू डराइरहेको बताउँछन् ।  

पानी परेपछि सडक अवरुद्ध भएपछि सरोकारवाला निकायहरुले दाउन्ने खण्डलाई पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने भए पनि ठेकेदारले वास्ता नगर्दा पानी परेपछि सर्वसाधारणहरुले सास्ती बेहोर्नुसँगै जोखिमसमेत बढेको भन्दै ठेकेदारलाई सो क्षेत्रमा तीव्रताका साथ काम गर्न सुझाएका छन् ।

उनीहरु भन्छन्, अन्य ठाउँमा भन्दासो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । पानी परेपछि दाउन्नेको १४ किलोमिटर सडक जोखिममा रहेको छ । 

जाम हटाउन न जनपद प्रहरी, न ट्राफिक प्रहरी कुनै पनि नगएको यात्रुहरुले बताएका छन् । पानी परेसँगै उक्त सडकमा २४ घण्टे प्रहरी मोबाइल गस्ति सेवा दिएर सर्वसाधारणलाई सहज बनाउन यात्रुहरुले आग्रह गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ