arrow

पूर्वी क्षेत्रबाट मनसुन भित्रँदै, सावधानी अपनाउन विज्ञको सुझाव [भिडियो]

पूर्वतयारीमा जुट्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
weather-02-18.jpg

काठमाडौँ । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरूको अनुमान छ । मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरूले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए । उनले यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह गरे । 

राज्यले कुन कुन ठाउँमा कस्तो आपत्कालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए । डा. उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरूको सङ्कलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए । उनले गृह मन्त्रालय, आपत्कालीन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे ।

उनले भने, ‘अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिन्छ । बढीमा १० दिनमा । त्यो बिस्तारै विकसित हुँदाहुँदै सुदूरपश्चिमसम्म पुग्दा लगभग २ हप्ता जति लाग्न सक्छ । अबको हामीसँग समय भनेको तयारीको हिसाबले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको हिसाबले १० दिन मात्रै छ । सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशको हकमा लगभग दुई हप्ताको समय छ । त्यसैले हाम्रो तयारीमा भोलिको दिनमा बढी पानी पर्छ भन्ने प्रक्षेपणमा आइसकेको सन्दर्भमा राज्यले कुन कुन ठाउँमा कस्तो आपत्कालीन समयमा प्रयोग हुने कस्तो सामग्रीहरू पठाउनुपर्ने हो, टेन्ट, खाद्यान्नहरू आजकै दिनसम्म पु¥याइसक्नुपर्छ । बाटो विपद्का कारण अवरोध हुनसक्छ, मौसमका कारण विमानहरू जान नसक्ने हुन सक्छन् । त्यसैले तयारीका लागि सबै निकायहरूले गृह मन्त्रालय, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभागदेखि लिएर स्थानीय र प्रदेश सरकारहरू सतर्क हुने र आजैदेखि जनशक्ति परिचालन गर्नुपर्छ । मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुनेछ ।’

विज्ञ उप्रेतीले मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुने भएकाले आम नागरिकले पनि सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे । जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरूले सुझाव दिएका छन् ।

यता विपद् पूर्वतयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरूलाई निर्देशन दिएको बताएको छ । मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरूलाई निर्देशन दिएको हो । नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरूको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारीमा खट्न आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ