arrow

एनएचसीएल र नेप्सबीच एकीकृत कारोबार, थपियो एटीएम र पीओएस सेवाको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
nhcl-neps-2081.jpg

काठमाडौँ । भुक्तानी सेवा सञ्चालक कम्पनीहरु नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) एक भएका छन् । एक्विजिसन प्रक्रियामा रहेका दुई कम्पनीबीच सोमबारदेखि एकीकृत कारोबार शुरु भएको छ । 

एकीकृत कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेडकै नामबाट सञ्चालन भएको छ भने सञ्चालक समिति पनि एनएचसीएलको मात्रै कायम रहेको छ । तर नेप्सको सम्पूर्ण सम्पत्ति र दायित्वको जिम्मा आजदेखि एनएचसीएलले लिएको छ ।

दुवै संस्था बैंक वित्तीय संस्थाहरुबाट प्रवर्धित कम्पनीहरु हुन् । त्यसमध्ये एनसीएचएल २०६५ सालमा स्थापना भएको हो भने नेप्स २०६९ देखि सञ्चालनमा आएको हो । 

नेप्सले विभिन्न कार्ड स्किमको लागि कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिँदै आएको थियो । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत आफ्ना सदस्यहरुलाई सेवा दिँदै आएको थियो ।

दुई संस्थाको मर्जरका लागि राष्ट्र बैंकले विशेष चासो देखाएको थियो । राष्ट्र बैंककै निर्देशनअनुसार दुई संस्थाबीच प्राप्ति सम्भव भएको हो । 

पुस ८, २०६५ मा स्थापित एनसीएचएलले ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, आरएसपी, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, एनपीआई, नेपाल पे, क्यूआरजस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ । 

यो कम्पनी अन्तर्गत ५३ भन्दा बढी बैंक वित्तीय संस्थाहरु र १०० भन्दा बढी अन्य संस्था तथा निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

त्यस्तै नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १ हजार ६ सय भन्दा धेरै एटीएम र ९ हजार बढी पीओएसमार्फत सेवा र इकमर्स कारोबारका सेवाहरु उपलब्ध गराउँदै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ