arrow

विश्वकपमा नेपालको प्रत्येक पाँच रनमा सुपर कृषक एपबाट कफी बिरुवा वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-super-krishak.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ "पाँच रन बापत एक कफी बिरुवा" अभियानको घोषणा गरेको छ । 

यस अभियान अन्तर्गत नेपाली  क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्ने छ । 

सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो । घाम पावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हाल सम्म २०,००० बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ । अनलाइन कृषि तालिम, माटो जाँच्ने सुविधा, एआईको माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू-उपग्रहको सहयोगबाट बालीको स्वास्थ्य, सिँचाइ, मौसम स्थितिबारे जानकारी दिने प्रविधि कृषि चिना साथै च्याटबटको माध्यमबाट किसानलाई सहजै कृषि बजार मूल्यमा मौसम र विविध जानकारी दिने लगायतका अन्य विविध सेवासुविधा सुपर कृषक एपले निःशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ ।

सुपर कृषक एपले  विगत लामो समयदेखि नै कृषि क्षेत्रमा कृषकहरुलाई प्रत्यक्ष लाभ हुने क्रियाकलाप गर्दै आएको छ र यसैलाई निरन्तरता दिँदै यो अभियान चलाइएको छ । यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए । 

कफी खेती नेपालमा एउटा सम्भावना बोकेको खेती व्यवसाय हो । साथै नेपालमा उत्पादित कफी अहिले विश्वबजारमा राम्रो ख्याती कमाइरहेको मौका छोपेर यो अभियान संचालन गरिएको एपले जनाएको छ । 

जसरी नेपाली खेलकुद क्षेत्रमा आफ्नो अलग पहिंचान बनाउँदै क्रिकेट खेल उदाई रहेको छ त्यस्तै गरी विश्व बजारमा पनि नेपाली कफीको माग बढ्दै गएको छ साथै निर्यात गर्न सकिने कृषि उपजको रुपमा उदाइरहेको छ । यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले गरेको रनले कुनै भूगोलका नेपाली सीमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्ने छ ।

यसरी भिन्न- भिन्न क्षेत्रबाट देशलाई योगदान दिइरहेको क्रिकेट र कफी (कृषि) लाई जोड्ने संकल्पका साथ अभियान संचालन गरिने जनाइएको छ। 

अभियानको मुख्य उद्देश्य सीमान्तकृत किसानहरुलाई व्यवसायिक कफी खेतीमा संलग्न गराउने हो । क्रिकेट खेलाडीहरुले पिचमा गरेका रनहरुले किसानहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ । यसले दिगो रुपमा कृषकहरुको आम्दानी वृद्धि गर्दै, उनीहरुको आर्थिक स्थिति सुधार्न मद्दत पुग्ने अनुमान गरिएको छ । 

उक्त टी-२० विश्वकप सम्पन्न  भएपछि नेपालमा कफीको सम्भावना बोकेको र भौगोलिक र मौसमको हिसाबले उचित स्थान छनोट गरी किसानहरुलाई कफीका बिरुवा वितरण गरिने कुरा यस अभियानका आयोजक सुपर कृषकले बताए । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ