- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भोजपुर। प्रशस्त वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसानहरू परम्परागत रुपमा मौरीपालन गरिरहेका छन् ।
टेम्केमैयुङ-५ मझौलेका दिपक विष्ट विगत २४ वर्षदेखि परम्परागत रुपमा मौरीपालन गरिरहेका छन् । मुढेघारमा उनका २० घारमौरी छन् ।
आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउ बाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उनले बताए ।
आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उनको भनाइ छ ।
‘विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु । स्वदेशमा स्वरोजगार बन्ने लक्ष्यले यो व्यवसायमा लागेको हुँ,’ विष्टले भने, ‘आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो । राज्यको कुनै पनि निकायबाट यस्तो सीप लिने अवसर पाएको छैन ।’
मौसमअनुसार एक वर्षमा दुईदेखि तीन पटकसम्म मह निकाल्न सकिने उनले जानकारी दिए । सिजनमा एकपटकमा ८० देखि ९० केजीसम्म मह निकाल्न सकिने व्यवसायी विष्टले बताए ।
मह स्थानीय बजारमा प्रतिकेजी एक हजार पाँच रुपैयाँमा बिक्री हुने विष्टले बताए । उत्पादित महको बजारीकरण नहुँदा सोचेअनुसारको आम्दानी नहुने पनि उनको दुखेसो छ ।
‘लेकाली भेगको जडीबुटीको मह भएकाले औषधिजन्य गुण बढी हुन्छ,’ उनले भने, ‘उत्पादित महलाई स्थानीय बजारमा बिक्री गरिरहेको छु । बजारीकरण राम्रो हुने हो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ राज्यबाट आवश्यक सहयोग, तामिलसँगै प्राविधिक ज्ञान पाएमा थप सहज हुने उनको भनाइ छ ।
आधुनिक घारमा मौरीपालन गर्ने सोच भए पनि राज्यको निकायबाट कुनै पनि सहयोग पाउन नसकेको उनको दुखेसो छ । राज्यबाट आउने अनुदान तथा अन्य सहयोग वास्तविक किसानसम्म पुग्न नसकेको उनको भनाइ छ ।
टेम्केमैयुङ-४ लुङ्गिनका कृषक रामकुमार राई २५ वर्षदेखि परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन् । उनले २८ वटा मुढेघारमा व्यावसायिक रुपमा मौरीपालन गरिरहेको बताए । एक सिजनमा सबै घारबाट एक सय केजीसम्म मह सङ्कलन हुने उनको भनाइ छ ।
महको बजारीकरणमा समस्या रहेको भन्दै उत्पादित महलाई बान्डिङ गरेर बाह्य बजारमा पठाउन सके मनग्ये आम्दानी लिन सकिने राईले बताए । पराम्परागत घारमा मौरीपालन गर्दा भाग्ने जोखिम बढी हुने उनको भनाइ छ ।
आधुनिक मौरीपालनको विषयमा ज्ञान नहुँदा बाध्य भएर पराम्परागत रुपमा पालन गरिरहेको राईले बताए ।
‘मुढेघारमा मौरीपालन गर्दा जोखिम बढी हुन्छ,’ उनले भने, ‘घारमा लगाएको मौरी भाग्ने सम्भावना बढी हुन्छ । भागीहाल्यो भने परिश्रम त्यसै खेर जान्छ । आधुनिक रुपमा मौरीपालन गर्ने रहर भए पनि त्यसको विषयमा जानकारी छैन । राज्यले हामी जस्ता किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिदिए व्यवसायमा थप टेवा पुग्ने थियो ।’
मौरीपालनका लागि घमाइलो र नजिक वन जंगल भएको ठाउँ उपयोगी हुने किसान राईको भनाइ छ ।
आफूले पालेको मौरीले वन जङ्गलबाट मह सङ्लन गर्ने भएकाले चरनमा लगेर सङ्कलन गरेको महभन्दा बढी लाभदायक हुने उनले बताए ।
‘हाम्रो ठाउँको मौरीको चरण क्षेत्र नै जङ्गल हो । जङ्गलबाट विभिन्न बोट बिरुवासँगै जडीबुटीबाट मह सङ्कलन गर्ने भएकाले चरन लगेर सङ्कलन गरेको महभन्दा धेरै लाभदायक हुन्छ,’ राईले भने, ‘कुनाकाप्चाको ठाउँ भएकाले हामीले यसको विषयमा सबैलाई बुझाउन सकेका छैनौं । राज्यले यस्ता अर्गानिक उत्पादनको बजारीकरणमा ध्यान दिए सहज हुने थियो ।’ रासस