- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । धनुषा सहित समस्त मिथिलाञ्चलमा आज महिलाहरुले हर्षोल्लासका साथ वट सावित्री पर्व मनाउँदैछ। पतिको दीर्घायुको कामनाका साथ आज धनुषा सहित मिथिलाका महिलाहरुले वट सावित्री पर्व मनाइरहेका छन् ।
बिहानैदेखि महिलाहरु वर रूखको पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाइरहेका छन् ।
हिन्दू धर्मावलम्बीले वरको रुखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले सो रूखको मुनि बसेर पतिको दीर्घायुका लागि कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास छ ।
यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नाका साथै बाँसको हातेपङ्खा, प्रसादसहित धार्मिक एवम् संस्कृतिअनुसार महिला पूजापाठ गर्छ ।
सत्ययुगमा सतिसावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले बताइन् ।
यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।
यस पर्वको अवसरमा जनकपुरधामको गंगा सागर , शिव चौकको शिव मन्दिर कपिलेश्वर नाथ महादेव मन्दिर, भुतनाथ मन्दिर लगायतका विभिन्न मन्दिरको परिसरलगायत अन्य ठाउँमा रहेका वरका रूखमुनि बसेर पूजापाठ गर्ने महिला बिहानैदेखि व्यस्त रहेको देखिन्छ ।
‘सृष्टिकर्ता यदा ब्रह्मा न लभे सृष्टि साधनमतदाक्षयवटं, चैनं पूज्या मासकामदम ।’
अर्थात् सृष्टि रचनाको प्रारम्भमा जब ब्रह्माजीलाई यथेष्ट परिमाणमा उचित सामग्री उपलब्ध नहुँदा उनले विष्णुजीको उपस्थितिमा वट वृक्षको पूजा–आरधना गरेर परमेश्वरको उचित सहायता प्राप्त गरी आफ्नो मनोरथ पूरा गरे ।
स्कन्द पुराण तथा भविष्योत्तर पुराणको अनुसार वट वृक्षमा देवताको बास हुने भएकाले यसलाई देव वृक्ष पनि भनिएको छ । यसैगरी, मिथिलामा वट वृक्ष पूजन गरी यसको परिक्रमा गर्ने प्रचलन प्रथाको रूपमा भएको देखिन्छ ।
धार्मिक किंवदन्ती तथा पौराणिक लोक मान्यता अनुसार वरको रुखमा ब्रह्मा, बिष्णु र महादेवको बास हुने गर्छ । यसको मूलमा भगवान ब्रह्मा, मध्यमा जनार्दन विष्णु तथा अग्रभागमा देवाधिदेव महादेव बास गर्छन भन्ने मान्यता रहिआएको पण्डित सुर्यदेव झाले बताए ।
ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवान्को प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाले नयाँ पहिरनमा जेठ औँसीको दिन सामूहिक रुपमा यो पर्व मनाउने गदर्छन् ।
कुल वधुहरू वरको गाछीमा परिक्रमा गर्दै चारैतिर धागो बाँधी, तन्मय एकाग्रतासँग सावित्री सत्यवान्को प्रेरक कथा सुन्दै सुनाउँदै पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिली महिलाले वट–सावित्री पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।
देवी सावित्री पनि यसै वट वृक्षमा प्रतिष्ठित रहेकी छिन । यसै अक्षय वटको पत्रपुटकमा प्रलयको अन्तिम क्षणमा भगवान् श्रीकृष्णले बालरुपमा मार्कण्डेय ऋषिलाई प्रथम दर्शन दिएका थिए ।
प्रसिद्ध तीर्थस्थल प्रयागराजमा गंगा नदीको किनारमा वेणीमाधव नजिक ‘अक्षय वट’ प्रतिष्ठित रहेका छन् । भक्त शिरोमणि तुलसीदासले यस अक्षय वटलाई तीर्थराजको छत्र भनेका छन् ।
यसैकारण तीर्थहरुमध्ये पञ्चवटीको विशेष महत्व रहेको छ । पाँचवटा वट वृक्षको उपस्थितिले यस स्थानलाई पञ्चवटी भनिएको छ । कुम्भज मुनीको परामर्श अनुसार भगवान् श्रीरामले सीता र लक्ष्मणसहित वनबासको समयमा यसै वट वृक्षमुनि निवास गरेका थिए ।
पर्वमा मौसमी फल आँप, लिची, नरिवल, सिन्दुर, चना, दही, चुरा, भिजाएको चना, केरा लगायतका फलफूल, विभिन्न पूजन सामग्री ‘बियन’ (बाँसको हातेपङ्खा)रातो, पहेँलो धागो, पान, सुपारी लगायतका सामग्रीसमेत चढाइन्छ ।
विवाहित महिलाले मात्र गर्ने यस पर्व वट सावित्री पूजनमा बाँस कलाको महत्वपूर्ण स्थान रहेको हुन्छ । पूजा सामग्रीमध्ये बाँसका सामग्री पनि अतिआवश्यक हुन्छन् ।
जस्तै– बियन, पनपथिया, मछडाली, कोनी आदि रहेका छन् । मिथिलामा बाँस पुरुष र वंश वृद्धिको द्योतकका रुपमा लिने गरिन्छ । तसर्थ कोहबरमा यसको चित्रण लिंगका रूपमा गरिएको देखिन्छ । कमल र बाँसले महिला र पुरुषको सम्बन्ध अर्थात् पूर्ण मनुष्यको संकेत प्रस्तुत गर्दछ ।
सावित्री र सत्यवान्को कथामा उल्लेख छ, ‘जतिखेर यमराज सत्यवान्को प्राण लिएर जान लाग्दा, सावित्री यमराजको पछि–पछि लागिन् । यमराजले सावित्रीलाई यस्तो गर्नबाट रोक्नका लागि लिए तीन वरदान दिएका थिए ।
पहिलो वरदानमा सावित्रीले आफू सय छोराको माता बन्ने वरदान मागिन् । यमराजले त्यस्तै, हुन्छ भनिदिए । त्यसपछि सावित्रीले यमराजसँग भनिन्, ‘म पतिव्रता नारी छु र बिना पतिको सन्तान कसरी सम्भव छ ? यो कुरा सुनेर यमराजलाई आफूले गरेको गल्तीको संम्झना भयो । उनी आफूले गल्तीले सत्यवान्को प्राण फर्काउने वरदान दिइसकेका थिए ।
तत्पश्चात् यमराजले अंकुरित चना (बदाम) को रूपमा सत्यवान्को प्राण सावित्रीलाई सुम्पिदिए । तसर्थ, अंकुरित चना (बदाम) प्रसादको रुपमा बाँडिने चलन रहेको छ ।
सावित्री पतिको प्राण यमराजसँग फर्काउन यमराजको पछि जाँदा, सत्यवान्को शवको रेखदेख वट वृक्षले गरेका थिए । पतिको प्राण फर्की सावित्रीले वट वृक्षको परिक्रमा गरी आभार व्यक्त गरेकी थिइन् ।
यद्यपि वट–सावित्री व्रतमा वृक्षको परिक्रमा गर्ने प्रचलन रहिआएको छ ।