arrow

क्रिकेट पारखीको आवश्यकता हेरी ‘वर्ल्ड कप अफर’ ल्याएका छौँ - सन्देश भुर्तेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
sandesh-bhurtel-cg-.jpg

सन्देश भुर्तेल चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी ब्राण्डको बिक्रीतर्फको सहायक महाप्रबन्धक हुन् । एलजी ब्राण्ड अन्तर्गत नेपलामा एसी, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, डिसवासर, वासिङ मेसिन, भ्याकुम क्लिनर, टेलिभिजन, कम्युटर मोनिटर लगायत प्रोडक्टहरु बिक्री भइरहेका छन् । 

अहिले एलजीले टी–२० विश्वकप क्रिकेटको लागि भनेर टेलिभिजनमा नयाँ अफर सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा गर्मी सिजनमा माग हुने एसी, रेफ्रिजेरेटर लगायत प्रोडक्टहरुका लागि अफर भने शुक्रबारदेखि सकिएको छ ।

यही अवसरमा हामीले एलजीले ल्याएको पुरानो अफरको सफलता र नयाँ अफर, यसको लक्ष्य तथा रणनीतिमा केन्द्रित भइ सहायक महाप्रबन्धक भुर्तेलसँग गरिएको कुराकनी प्रस्तुत गरेका छौँ । 

तपाईंहरुको ‘न्यू इयर स्किम’ भर्खरै सकिएको छ, यसको उपलब्धि कस्तो रह्यो ? 
हामीले नयाँ वर्षका लागि भनेर चैत महिनाको मध्यदेखि जेठ २५ गतेसम्मको लागि ‘न्यू इयर स्किम’ सञ्चालन गर्यौं । यो स्किमको माध्यमबाट हामीले यो ब्राण्डको व्यापारलाई सोचेभन्दा धेरै माथि उठाएका छौँ । 

यस पटकको गर्मी सिजनमा एयर कन्डिसन (एसी), फ्रिजहरुको व्यापार तुलनात्मक रुपमा राम्रो रह्यो । आईपीएल लगायतको कारणले यो अवधिमा टेलिभिजनको व्यापार पनि राम्रो देखिएको छ । 

नयाँ वर्षको यो अफर अन्तर्गत कस्तो कस्तो सुविधा थियो ? ग्राहकहरुको रुचि यसमा कस्तो देखियो ? 

न्यू इयर अफरमा हामीले ४० प्रतिशतसम्म क्यासब्याकको सुविधा राखेका थियौँ । त्यस्तै, स्योरसट गिफ्ट भनेर हामीले जुनसुकै सामान किन्दा पनि केही न केही उपहार दिने व्यवस्था हामीले गरेका थियौं । 

एलईडी टीभीमा हामीले एक लाखसम्मको दुर्घटना बीमा एक वर्षका लागि निःशुल्क रुपमा दिएका थियौँ । सामानको वारेन्टी, ग्यारेन्टी त छँदै थियो व्यक्तिको दुर्घटना बीमाका कारणले पनि ग्राहकले अतिरिक्त सुविधा पाउने अवस्था रह्यो । 

त्यस्तै, फ्रि डेलिभरी र इन्स्टलेसन, ईएमआई र एक्सचेञ्जको व्यवस्था पनि गरेका थियौं । यीनै अफरका कारण यो योजना सोचेको जस्तै सफल भयो भन्ने जस्तो लागेको छ । बजारमा यसपटक हाम्रो प्रोडक्ट र अफर यति धेरै रुचाइए कि कतिपय अवस्थामा त हामीलाई माग व्यवस्थापन गर्न समेत गाह्रो भयो । योबीचमा हामी १४–१५ हजार भन्दा बढी रेफ्रिजेरेटर र ६ हजार भन्दा बढी एसीको बिक्री गर्न सफल भएका छौँ । 

तपाईंहरुले स्किम भनेर मात्रै किन यस्ता अफरहरु ल्याउनुहुन्छ ? यी सबै सुविधा निरन्तर रुपमा किन दिन सकिँदैन ? 

इलेक्ट्रोनिक्स बिजिनेसको ट्रेन्ड हेर्ने हो भने सबैभन्दा धेरै बिक्री दुईवटा समयमा बढी हुन्छ । एउटा दशैं तिहारको समय र अर्को चैत बैशाखको समयमा । दशैं तिहारको समयमा जाडो सुरु हुने र चाडबाड पनि हुने भएकोले त्यो बेलामा जाडो यामका सामानहरुको बिक्री बढी हुन्छ । अर्कोतिर, चैत बैशाखमा गर्मी हुने भएकोले यो समयमा गर्मी सिजनमा खपत हुने सामानको माग बढी हुन्छ । 

यसरी धेरै बिक्री हुने समयमा हाम्रो बजारीकरण र बिक्रीको लागत पनि औसतमा केही कम पर्न जान्छ । त्यही भएर यो लाभ ग्राहकसँग शेयर गरौँ भनेर हामीले अफरको व्यवस्था गरेका हौं । कतिपय स्कीमहरु भने अफर नचल्दा पनि निरन्तर उपलब्ध भइरहेका पनि हुन्छन् । 

उदाहरणका लागि अहिले फ्रिज, एसी लगायतमा पाइने फ्रि इन्टलेसन, ईएमआई एक्सचेञ्जहरु अब पनि निरन्तर हुन्छन् । स्योर सट प्राइज हरु चाहिँ योजना सकिएपछि अब बन्द हुन्छन् । एक वर्षको दुर्घटना बीमा आजदेखि बन्द हुने भए पनि वल्र्ड कप अवधिसम्मको लागि हामीले निरन्तरता दिएका छौँ ।  

अहिले विश्वकप चलिरहेको छ, नयाँ वर्षको अफर नसकिँदै तपाईंहरुले अर्को अफर ल्याउनुभयो । यसमा ग्राहकले पाउने सुविधाहरु चाहिँ के के छन् ? 

वल्ड कप अफर भनेर हामीले मूलतः टेलिभिजनमा नै अफर ल्याएका हौं । नेपाल १० वर्षपछि विश्वकप क्रिकेटका लागि छनौट हुनु नेपालको लागि गर्वको विषय हो । अमेरिकामा बसेर नेपाली खेलाडीले विश्वकप खेलिरहँदा नेपालीले यसलाई सहजतापूर्वक हेर्न पाउनुपर्छ भन्ने मान्यता हो । त्यसैले हामीले दिनसक्नेसम्मको सम्पूर्ण सुविधा र सहुलियत उपलब्ध गराएर यो अफर ल्याएका छौँ । 

यस अन्तर्गत पनि हामीले ४० प्रतिशतसम्मको क्यासब्याक अफर राखेका छौं । एक वर्षको दुर्घटना बीमा, फ्रि डेलिभरी र एलजी सर्टिफाइड फ्रि इन्टलेसन सुविधा र दुईदेखि तीन वर्षसम्मको वारेन्टी सुविधा दिएका छौं । एलजीले विश्वभरी नै इन्टलेसनको लागि एउटा मापदण्ड तोकेको छ । यो मापदण्डले सामानको इन्टलेसनसम्म पनि सामानमा टुटफुट लगायत कुनै खराबी आएको छैन भन्ने निश्चित गर्छ । 

त्यति मात्रै नभएर तत्कालै सबै पैसा तिरेर टेलिभिजन किन्न सक्ने अवस्था नभएका ग्राहकहरुलाई हामीले ईएमआई सुविधा दिएका छौं । यस अन्तर्गत हामीले ६ महिना, १२ महिना र १८ महिनाको किस्ता तिर्नेगरी कुनै पनि डाउन पेमेन्ट र ब्याज नतिरिकन टेलिभिजन किन्न पाउने व्यवस्था गरेका छौं । पुरानो टेलिभिजन भएका तर ठूलो साइजका नयाँ टेलिभिजन आवश्यक हुनेहरुको लागि पुरानो टेलिभिजनको उचित मूल्य दिएर एक्सचेञ्जको सुविधा पनि राखेका छौँ । 

हामीसँग भएको टेलिभिजन अन्तर्गत स्मार्ट, यूएचडी फोरकेड, क्यूनेड र ओलेड गरी चार प्रकारका टेलिभिजनहरु छन् । यसमध्ये स्मार्ट टेलिभिजन ३२ इञ्चको हुन्छ । यूएचडी फोरके टेलिभिजन ४३ देखि ८६ इञ्ज, क्युनेडमा ५५, ६५ र ७५ इञ्च तथा ओलेडमा ५५ र ६५ का टेलिभिजनहरु छन् । यी सबै सेगमेन्टहरुमा अफर अनुसारको सुविधा उपलब्ध गराएका छौँ । 

यो अफरको समयमा तपाईंहरुको बिक्री गर्ने लक्ष्य कति हो ? 

अहिले बजारमा सबैभन्दा धेरै यूएचडी फोरके टेलिभिजनको बिक्री बढी हुने गरेको छ । त्यसमध्ये पनि ५५ इञ्चको सेगमेन्टको डिमाण्ड सबैभन्दा बढी छ । क्युनेड र ओलेड ब्राण्डका टेलिभिजनहरु प्रिमियम सेगमेन्टको भएकोले यसको डिमाण्ड अलिकति कम नै हुन्छ । यो समग्र गरी अफरको करिब एक महिना अवधिमा १ हजार भन्दा धेरै टेलिभिजन बिक्री गर्ने हाम्रो लक्ष्य छ ।

नेपालमा सुरुमा सामान्य खालका टेलिभिजनहरुको प्रचलन थियो । घरमै बसेर फिल्म हलको आनन्द लिने हिसाबले अहिले टेलिभिजन किन्ने गरिएको छ । ५÷७ वर्ष अघिसम्म सानो साइजका टेलिभिजनहरुको बिक्री हुन्थ्यो । अहिले त्यस्तो प्रकारको टेलिभिजनहरु बिक्री कम हुन्छन् । आजकल ठूला साइजका टेलिभिजनहरुको माग बढीे हुने गरेको छ । 

अलि ग्रामीण इलाकामा अहिले पनि ३२ इञ्चका टेलिभिजनको माग बढी छ । शहर एरियामा ५५ इञ्चको बढी जाने गरेको छ । मिटिङ रुम तथा पर्याप्त स्पेश भएका र अलि धेरै खर्च गर्नसक्ने खालका ग्राहकबाट ७५÷८५ इञ्चका टेलिभिजनहरुको माग हुने गरेको छ । 

तपाईंहरुले दिने डिलिभरी र फ्रि इन्टलेसनको सुविधा कहाँ कहाँसम्म दिन सक्नुहुन्छ ?

बजार एरिया र तराईको क्षेत्रमा २०÷२५ किलोमिटरसम्म पनि डेलिभरी सुविधा हुन्छ । पहाडी क्षेत्रमा भने बाटोको आधारमा ५÷७ किलोमिटर टाढासम्म सुविधा दिन सक्छौं । त्योभन्दा टाढाको ठाउँमा इन्टलेसन गर्नुपर्दा डिलर र ग्राहकको नेगसिएसनका आधारमा हुन्छ ।

हामीसँग देशभर ५०० भन्दा बढी डिलर भएकोले तराईका अधिकांश क्षेत्र र पहाडका मुख्य शहरहरुमा ग्राहकले डेलिभरी र इन्टलेसनको लागि अतिरिक्त पैसा तिर्नु पर्दैन । उच्च पहाडी र हिमाली क्षेत्रमा यस्तो सुविधा दिनुपर्ने अवस्थामा डिलर र ग्राहकले नेगोसिएसन गर्छन् । 

बजारमा विभिन्न ब्राण्डहरु उपलब्ध छन् । ती ब्राण्डसँग प्रतिस्पर्धा गर्न तपाईंहरुले लिँदै आएको रणनीति चाहिँ के हो ? 

हाम्रो ३० वर्षदेखिको इतिहास, बिक्री तथा बिक्रीपछिको सेवाप्रतिको विश्वास र हामीले ल्याउने अफर नै हाम्रो बजार प्रतिस्पर्धा गर्ने रणनीति हो । पछिल्लो समय हामीले ल्याएको ईएमआई सुविधाले पनि ग्राहकहरु आकर्षित हुनुभएको छ । 

यस अन्तर्गत हामीले गरेको सिफारिसका आधारमा विभिन्न ७ वटा बैंकहरुले यस्तो सुविधा उपलब्ध गराउँछन् । यसमा ग्राहकले कुनै ब्याज, डाउन पेमेन्ट र अतिरिक्त शुल्क तिर्नु पनि पर्दैन । ईएमआई सुविधामा देखिएका केही प्राविधिक समस्यालाई पनि हामीले कम गर्दै लगेका छौं । यी सुविधाको कारणले पनि ग्राहकहरुको आकर्षण बढेको देखिन्छ । 

तपाईंहरु एउटै छाता अन्तर्गत विभिन्न ब्राण्डहरुको बिक्री र बजारीकरणको काम गरिरहनुभएको छ, बजारसँग प्रतिस्पर्धा गर्दैगर्दा आफ्नै ब्राण्डहरुबीचको प्रतिस्पर्धा चाहिँ कसरी हुन्छ ? 

सीजी इलेक्ट्रोनिक्सले फरक फरक ब्राण्डका सामान बिक्री गर्दै आएको छ । तर, हरेक ब्राण्ड हेर्ने फरक फरक टीम छ । हामीले डिलरदेखि ग्राहकसँग डिल गर्दा फरक फरक रुपमै गरिरहेका हुन्छौं । एलजी र सीजीको प्राइसको रेञ्ज अलिकति फरक हुन्छ । एलजीको रेञ्ज प्रिमियम हुन्छ भने सीजीको रेञ्ज त्योभन्दा एक स्टेप कमको हुन्छ । त्यस्तै, अरु ब्राण्डहरुको पनि प्राइस रेञ्जमा केही तलमाथि हुन्छ नै । 

एउटा ग्राहक सामान किन्न पसलमा छिरिसकेपछि कस्तो र कति मूल्यको सामान चाहिएको छ भन्ने आधारमा ब्राण्ड छनौट गर्नसक्ने सुविधा हुन्छ । हाम्रो उद्देश्य भनेको कुनै पनि ग्राहक आफ्नो क्षमता नभएर उम्किने अवस्था नहोस् र उच्च गुणस्तरीय सामान किन्ने रुचि हुँदाहुँदै पनि कम गुणस्तरीय र सस्तो किन्नुपर्ने अवस्था पनि नहोस् भन्ने हो । 

पछिल्लो समय समग्र बजारको अवस्था के छ ? 

इलेक्ट्रोनिक्स बजारमा पनि समग्र बजारमा जस्तै आर्थिक मन्दीको असर केही न केही त परेकै छ । एलजी आफैँमा प्रिमियम सेगमेन्टको लागि लिडर ब्राण्ड नै हो । आर्थिक मन्दी हुँदा धेरै खर्च गर्न नसक्ने भएकोले यसको असर सबैभन्दा बढी प्रिमियम ब्राण्डमा नै पर्ने हुन्छ । 

तर, जस्तो अवस्था भए पनि बजारमा अघि बढ्नुको विकल्प छैन । त्यही अनुसार हामी अघि बढ्यौं । ग्राहकलाई सजिलो हुने खालका सुविधा र अफरहरु ल्यायौं । त्यही कारण यस्तो मन्दीको अवस्थाको बीचमा पनि हामी ग्रोथको अवस्थामै छौं । मन्दी थिएन भने अहिलेको अवस्थामा अहिलेभन्दा धेरै ग्रोथ हुन चाहिँ सक्थ्यो होला ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ