arrow

कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
chitwan-karagar.jpg

चितवन । कारागार कार्यालय चितवनका कैदीबन्दीमा  बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ ।

कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ ।

उनले भने “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।” 

साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए ।

कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ ।

“गर्मीले कमजोरी महसुस गर्ने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा छ”, उनले भने ।

उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए । 

अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख कमलनाथ आचार्यले बताए ।

अन्य दीर्घरोगीको नियमित उपचार भइरहेकाले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उनको भनाइ छ ।

गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत चार महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ ।

अहिले दुईवटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिए । 

जिल्ला कारागार चितवनमा हाल सात सय ३४ कैदीबन्दी छन् ।

दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९४ जना र २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४० जना कैदीबन्दी छन् ।

उनीहरुसँग आश्रित दुई जना बालबालिकासमेत रहेको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ