arrow

राष्ट्रपति पौडेल र समकक्षी एमहर्डबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
ramchandra-adms1.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । 

त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए । “सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यसलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ । यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई धेरै स्रोतसाधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता छ”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भ्रमण दलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएको पनि पोखरेलले जानकारी दिए । 

स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुकका रुपमा रहेको बताउँदै राष्ट्रपति पौडेलले यस देशले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अङ्गिकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताएका थिए । “नेपाल र स्वीट्जरल्याण्डबीच सङ्घीयता, संसदीय लोकतन्त्र, मानवअधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्यमान्यता तथा सिद्धान्तहरू रहेको र सहभागीतामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्दामा दुई देशबीच समान धारणा रहेको पनि उल्लेख गर्नुभएको थियो”, पोखरेलले भने । 

यसैगरी जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बनउत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर ब्यहोरिरहेको बताएका थिए ।

त्यसअवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएकामा राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेकी थिइन् । पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरेकामा स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाएको जनाइएको छ । 

उनले नेपालको शान्ति प्रक्रिया र सत्यनिरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिएकी थियन् । त्यस्तै उनले तेन्जिङ नोर्गे शेर्पाका नातीले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देश भूगोलमा मात्र नभई संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरेकी थिइन् । 

त्यसैगरी राष्ट्रपति एमहर्डले नेपालको संविधानमा सङ्घीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरेकी थिइन् । उनले नेपालका विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान पाएको उल्लेख गर्दै दुई देशबीचको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो निरन्तर चलिरहने विश्वास दिलाएको पनि राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ