arrow

पत्रकार महासंघ कास्कीमा प्रहरी तैनाथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
police-patrakar-mahasang-kaski.jpg

पोखरा । अध्यक्ष बिमला भण्डारी र कार्यालय सचिव प्रमिशा सिलवाललाई भित्रै राखेर असन्तुष्ट पत्रकारले नेपाल पत्रकार महासंघ कास्की शाखामा तालाबन्दी गरेपछि सुरक्षाकर्मी खटाइएको छ । महासंघमा कुनै अप्रिय अछना नहोस् भन्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

सदस्यता सिफारिस भएको डेढ वर्षसम्म सदस्यता नपाएपछि कास्कीका १८ जना पत्रकारले आज तालाबन्दी गरेका हुन् । योसँगै महासंघको गण्डकी प्रदेश कार्यालयमा पनि बन्द भएको छ ।  

असन्तुष्ट पत्रकारहरुले अध्यक्ष भण्डारीसँग बाहिर निस्केर सहजीकरण गरिदिन साढे दुई घण्टासम्म आग्रह गरेको तर अध्यक्ष भण्डारीबाट बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको पत्रकार अनुप पौडेलले बताएका छन् ।

पत्रकार  पौडेलले भने, ‘अन्ततः नेपाल पत्रकार महासंघ कास्की र गण्डकीमा तालबन्दी भएको छ । बाहिर निस्केर सहजीकरण गरिदिन साढे दुई घण्टासम्म आग्रह गर्दा पनि अध्यक्षज्यूले बेवास्ता गर्नुभयो । पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अध्यक्ष विमला भण्डारी र कार्यालय सचिव प्रमिशा सिलवाल महासंघभित्र रहनुभयो । हामी थप सशक्त ढङ्गले अगाडि बढ्ने छौँ ।’

यता, अध्यक्ष भण्डारीले महासंघको केन्द्रीय समितिले टुंगो लगाउनै लागेको विषयमा अनावश्यक हल्ला गरिएको बताएकी छन् ।

उनले पत्रकार महासंघमा सदस्य नै नभएका व्यक्तिले तालाबन्दी गर्नु राम्रो विषय नभएको बताइन् ।

उनले भनिन्, ‘सदस्यताको विषय केन्द्रले टुंग्याउने हो । मेरो क्षेत्राधिकारभित्र पर्दैन । उनीहरुका माग मैले चाहेर पनि संवोधन गर्न सक्दिन ।’

यता, अधिकांश पत्रकारले अध्यक्ष र कार्यालय सचिवलाई भित्रै राखेर तालाबन्दी गर्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । उनीहरुले छलफलका माध्यमबाट समस्या समाधानमा लाग्न आग्रह गरेका छन् । असन्तुष्ट पत्रकारसँग छलफल गरेर ताला खोल्न केही अगुवा पत्रकारहरु महासंघ कार्यालयमा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ