arrow

सदस्यता विवाद

एक घण्टामै खुल्यो पत्रकार महासंघमा लगाइएको ताला

नेतृत्वमाथि पटकपटक प्रहार हुनु गलत हो : अध्यक्ष भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
fnj-kaski-tala.jpg

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा शुक्रबार दिउँसो महासंघको नयाँ सदस्यता माग गरेका पत्रकारले लगाएको ताला खुलेको छ ।

महासंघको सदस्यता प्राप्तिका लागि फर्म भरेको एक बर्ष बित्दा पनि सदस्यता नपाइएको भन्दै १८ जना पत्रकारको समूहले ताला लगाएका थिए ।

उनीहरुले ताला लगाउँदा महासंघ अध्यक्ष बिमला भण्डारी र कार्यालय सचिव प्रमीशा सिलवाल पत्रकार महिलाको तालिमको तयारीमा कार्यालयभित्रै ब्यस्त थिए ।

महासंघ अध्यक्ष भण्डारी र कार्यालय सचिव सिलवाललाई भित्रै राखेर ताला लगाइएपछि ताला लगाउने समूहको चर्को आलोचना भएको थियो ।

साथै ताला तुरुन्त खोलेर छलफलका माध्यमबाट समस्या समाधानका लागि अघि बढ्न उनीहरुमाथि दवाव परेको थियो । अग्रज तथा पत्रकार संवद्ध नेताहरुले समूहलाई ताला खोल्न दबाब दिएपछि समूहले करिब एक घण्टापछि ताला खोलेका थिए ।

यस विषयमा महासंघ अध्यक्ष भण्डारीले ताला लगाउनु र खोल्नुको कारणबारे आफूलाई केही जानकारी नभएको बताइन् ।

‘ताला लगाउनभन्दा करिब आधा घण्टा अघि त्यो समूह एक्कासी महासंघमा आएर समय मागेको थियो । म महासंघकै काममा व्यस्त थिएँ । तपाईहरुको सदस्यता प्राप्तिको विषयलाई दबाब दिन छलफल र बैठकलाई केही समय दिनुस्, आक्रोशमा नआउनुहोस् भनेपछि उनीहरुले ताला लगाए ।’

उनले भनिन्, ‘पछि ताला किन र कुन कारणले खोले मलाई केही थाहा भएन । पछि सुरक्षाकर्मी आए । सुरक्षाकर्मी पनि मैले बोलाएको होइन, यसलाई कसैले फण्डा गर्यो पनि भनेका छन् ।’

‘नेतृत्वमाथि पटकपटक प्रहार हुनु गलत हो’, उनले थपिन्, ‘अर्को सदस्यताको विषय छ । त्यो मेरो हातमा छैन । महासंघ कास्कीले बकाइदा सिफारिस गरेर प्रदेशमा पठाएको छ । त्यो प्रमाण पनि छ । अब प्रदेशले के गर्यो, केन्द्रले के गर्यो त्यो मैले कसरी भन्न सक्नु ?’

‘सदस्यता नपाएका ती पत्रकारका साथमा म हिजो पनि थिएँ र आगामी दिनमा पनि हुन्छु । म मेरो कर्तव्य कदापि भुल्दिन’, अध्यक्ष भण्डारीले भनिन्, ‘तर सबै कुराको दोषी मै हुँ जस्तो ढंगले यस्ता कार्य गरिएको छ, त्यो गलत छ । अनावश्यक कुराको बखेडा गरेर योजनावद्द तवरले मलाई जुन किसिमले बद्नाम गर्न खोजिएको छ, त्यो ठीक भएन ।’

हाम्रो बटमलाइन सदस्यता प्राप्ति हो : समूह

सदस्यता पीडित पत्रकार समूहले भने क्रियाशील पत्रकारलाई सदस्यता नदिएर महासंघलाई कहाँ लैजान खेजिएको भन्दै प्रश्न गरेका छन् । उनीहरुले कास्की शाखाले नै तोकिएको समयमा सदस्यता सिफारिस नगरेको आरोप लगाएका छन् ।

आफूहरुको एकमात्र बटमलाई सदस्यता भएको भन्दै उनीहरुले सदस्यता नपाउँदासम्म नखोल्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए ।

आफूहरुको समस्याका विषयमा पटकपटक ध्यानाकर्षण गराइए पनि सुनुवाई नभएपछि आफूहरु ताला लगाउने अवस्थामा आइपुगेको विज्ञप्तिमा उल्लेख छ ।

सदस्यता पीडित समूहले जारी गरेको विज्ञप्ति

ताला खुलेपछिको विज्ञप्ति

सदस्यताको माग गर्दै कास्कीका हामी १८ जना पत्रकारले २०८१ जेठ ३२ गते नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको भवनमा तालाबन्दी गरेका थियौँ । साढे दुई घण्टासम्म आग्रह गर्दा आन्दोलनलाई कमजोर मानेर हामीलाई बेवास्ता गरेपछि कास्की अध्यक्ष विमला भण्डारी र कार्यालय सचिव प्रमिशा सिलवाल भवनभित्रै थुनिने परिस्थिति बन्यो ।

महासंघ कास्की, गण्डकी, अग्रज पत्रकार र पत्रकारसम्बद्ध अन्य संस्थाका पदाधिकारीसँगको छलफलपछि तत्काललाई हामीले तालाबन्दी खोल्ने निर्णय गरेका छौँ । सदस्यताका लागि सिफारिस भएका पत्रकारको मुद्दाको नेतृत्व महासंघ कास्की, गण्डकी र पत्रकारसम्बद्ध अन्य संगठनले गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हाम्रो एकमात्र माग हामीलाई सदस्यता दिइनुपर्छ भन्ने हो ।

सदस्यता नहुनेहरु पनि पत्रकार हुन्छन् भन्नेमा दुई मत छैन । तर, महासंघ कास्की अध्यक्ष पत्रकार हुन सदस्य हुनैपर्छ भन्ने मानसिकताबाट ग्रस्त देखिनुभयो । श्रमजीवी पत्रकारको आन्दोलनलाई अटेर गर्ने, गैरपत्रकार भन्ने, महासंघमा प्रहरी बोलाउनेजस्ता गतिविधि निकै खेदजनक छन् । अन्त्यमा, हाम्रो मागमा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौंँ ।

– सदस्यता पीडित समूह – १८, कास्की



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ