arrow

सामान ल्याउँदा एसएसबीले ज्यादती गरेको गुनासो सुन्दै सशस्त्र प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
rautahat-public-hearing-ssb.jpg

रौतहट । सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमासुरक्षा बल एसएसबीले ज्यादतीपूर्ण ब्यवहार गर्ने गरेको रौतहटस्थित सीमाबासीले गुनासो गरेका छन् । 

विवाह, चाडपर्वलगायत विभिन्न धार्मिक अनुष्ठानको लागिसमेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।

बौधीमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमास्तम्भ ३५५–७ नजिकै आँपको बगैंचामा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा आयोजित सीमाबासीसँग सशस्त्र प्रहरी विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पीडासँगै  सुझाव राखेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंको प्रमुख आतिथ्य तथा बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवको विशिष्ट आतिथ्य तथा परोहा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित भएको कार्यक्रममा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु, कृषिजन्य बीउबिजन, मलखाद ल्याउँदा एसएसबीले विभिन्न कारण देखाएर गर्ने हैरानीप्रति सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको १० वर्षे सशस्त्र द्वन्द्वको समय सुरक्षाको कारण देखाई बन्द भएको बंकुलमा अवस्थित छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानीय ब्यापारीदेखि सर्वसाधारण सीमाबासीले सास्ती खेप्नु परेको हुँदा सञ्चालनको लागि सहभागीहरुले पहल गरिदिन आग्रह गरेका थिए ।

त्यस्तै हाल बर्सात तथा मनसुनको समय आउनै लागेकाले हुन सक्ने बाढीबाट उत्पन्न हुने जोखिमबाट बच्ने उपाय,सीमा सुरक्षा अपराध न्यूनीकरणबारे स्थानीयहरूले प्रश्न उठाएका थिए। 

 सीमासँग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुने गरेको विभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमाक्षेत्रमा आवतजावत गर्न वारपार हुने सवारीसाधनको व्यवस्थापनको लागि माग गरेका थिए। 

केही कुपात्रहरुले सामाजिक सञ्जालमा सीमाक्षेत्रमा अबैध गतिबिधि भईरहेको भनेर भ्रम फैलाउने गरेकाले त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने सीमाबासीले माग गरेका थिए ।

सीमाबासीले राखेको विभिन्न समस्याहरूको समाधानबारे मेयर यादव र सीमाको महत्व सुरक्षाबारे उठेको प्रश्नको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जवाफ दिएका थिए। 

कार्यक्रममा सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा बौधिमाई र परोहा नगरपालिकाका स्थानिय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

सशस्त्र प्रहरी बल रौतहटका एसपी हुमागाईंको सक्रियतामा रौतहटमा सीमाबासीको समस्या उजागरसँगै समाधान गर्ने पटकपटक पहल तथा प्रयास हुँदै आएको स्थानीयहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ