arrow

लिङ्देनले रोष्ट्रममै च्याते मन्त्रालयको बजेट पुस्तिका [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
rajendra-lingden-03-07.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन् । 

उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताएका थिए । उनले पुस्तिका च्यातेर हुर्‍याउने मन भए पनि संसदीय मर्यादा विपरीत हुने भएकाले आफुले नहुर्‍याउने बताए । अध्यक्ष लिङ्देनले चार वटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताए । उनले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए ।

उनले भने – ‘सामान्यतया म आफूले आफैँलाई हेर्दा खेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ । कहिलेकाहीँ रिस पनि पोखिन्छ । तर एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रूपमा मैले आफूलाई ठान्छु । तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्‍यो । त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर(पुस्तक च्यात्दै), यसरी हुर्‍याउने मन छ ।(हुर्‍याउन खोज्दै) । तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ राख्छु मैले । यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चार वटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरूको मनको कुरा हो । यसरी सामान्य लाज, घिन पनि नराखेर राज्य स्रोतमाथि यस प्रकारको मनपरी कति दिनसम्म मानिसहरूले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने । यो पढिने चिज हो । देखिने चिज हो । भन्ने कुरा पनि नराख्ने । यहाँ जिल्लाको नाम छापेर धेरै देखिन्छ भनेर जिल्लाको समेत नाम नराखी योजना राखिएको छ । ०६२÷०६३ अगाडी योजना छनौट प्रक्रिया हुन्थ्यो । बस्ती तहबाट वडा, वडा बाट गाविस, गाविसबाट इलाका हुँदै ८, ९ चरण पार गरेपछि योजना छनौट हुन्थ्यो । अहिले त बजेट मन्त्रीको मुखबाट, गोजीबाट निस्कने चिर्कटोबाट आउँछ । यो विषयमा हामीले छलफल गरिदिनुपर्ने । यो जुन काम मन्त्रीज्युहरुले गर्नुभएको छ लामो समयदेखि औँला ठड्याइरहेका छौँ त्यसलाई पुष्टि गर्छ । तपाईँहरूले बजेट बनाउने मौका पाउँदा खेरी जुन प्रकारको मनपरी गर्नुभयो । त्यसमा राजेन्द्र लिङ्देनको कुनै आपत्ति छैन । राप्रपाको कुनै गुनासो छैन । एउटा जनताको प्रतिनिधिको हिसाबले मात्रै यो आक्रोश पोखिराखेको छु । तपाईँहरूलाई धन्यवाद दिनुपर्छ । किनभने तपाईँहरूले यो व्यवस्था काम लाग्दैन भनेर, यो निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर पुष्टि गर्नुभएको छ । र यसलाई चाँडो भत्काउन तपाईँहरू आफैँ सहयोगी बन्नुभएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ