arrow

युरोप भ्रमण सकेर फर्के राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
ramchandra-poudel-81-3-5.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्केका छन् । उनी जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्किएका हुन् ।

पौडैललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गरे । 

यसअघि राष्ट्रपति पौडेललाई बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता रहेको थियो । 

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो । 

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । 

उनले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गरे । यसैगरी उनको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आइतबार त्यहाँ एक विशेष  स्वागत समारोह आयोजना गरेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुरयाउन सबै नेपालीलाई आह्वान गरे । सो अवसरमा जर्मनीमा रहेको गैर आवासीय नेपाली संघका तर्फबाट राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो 

यसअघि स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई जेठ ३१ ग्ते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा उनले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपील गरे । 

राष्ट्रपति जेठ २९ गते मङ्गलबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ