arrow

बीमा प्राधिकरणमा कार्यकारी निर्देशकको कुर्सी तीन सातादेखि खाली, किन हुँदैछ नियुक्तिमा विलम्ब ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
insurance-authority-executive.jpg

काठमाडौँ । बीमा समितिको कार्यकारी निर्देशकको पद तीन साता भन्दा बढी समयदेखि रिक्त छ । कार्यकारी निर्देशक राजुरमण पौडेलको कार्यकाल गत जेठ १२ गते सकिएसँगै यतिबेला उक्त पद खाली भएको हो । 

कर्मचारीहरुमध्येको सबैभन्दा उपल्लो पदको रुपमा रहेको र एकमात्रै दरबन्दी रहेको उक्त पद नहुँदा अहिले प्राधिकरणमा दैनिक कार्यहरुसमेत प्रभावित हुँदै गइरहेका छन् । अहिलेसम्म कसैलाई पनि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी समेत दिइएको छैन । 

बीमा समितिमा कार्यकारी निर्देशक पदको नियुक्ति बोर्डले गर्छ । बोर्डबाट निर्णय हुनुभन्दा अघि अध्यक्षले निर्देशक स्तरका कसैलाई निमित्तको जिम्मेवारी दिन सक्छन् । राजुरमण पौडेलभन्दा अघिका कार्यकारी निर्देशक श्रीमान कार्कीको अवधि सकिएपछि तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईंले राजुरमणलाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । पछि उनी नै कार्यकारी निर्देशक नियुक्त भए । 

किन हुँदैछ नियुक्ति विलम्ब ? 

अहिले बीमा समितिमा कार्यकारी निर्देशकका लागि तीनजनाको आकांक्षी रहेको देखिन्छ । त्यसमध्ये वरिष्ठतम निर्देशकमा कमलप्रसाद रेग्मी रहेका छन् । उनी कार्यकारी निर्देशक नियुक्त भएको करिब ९ वर्ष भइसकेको छ । त्यस्तै निर्देशकद्वय सुशीलदेव सुवेदी र पुजन ढुंगेलले त्यसपछिको वरिष्ठता क्रममा छन् । उनीहरु दुवैको करिब साढे ४ वर्ष निर्देशक भएको अनुभव छ । 

बीमा समितिमा कार्यकारी निर्देशक नियुक्त हुन पुरुष कर्मचारी नियुक्त भएको ५ वर्ष र महिला कर्मचारीलाई ४ वर्ष निर्देशक भएको हुनुपर्ने व्यवस्था कर्मचारी नियमावलीमा छ । त्यसैले अहिले पुजन ढुंगेलसमेत कार्यकारी निर्देशकको लागि योग्य छिन् । सुशीलदेवको भने अझै केही महिना बाँकी छ ।

अहिले प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको पहिलो रोजाइ सुशीलदेव हुन् । तर उनलाई कार्यकारी निर्देशक नियुक्ति गर्न कानूनी जटिलता छ । कमलप्रसादसँग अध्यक्ष सिललवालको ‘ट्युनिङ’ खासै मिल्दैन । 

नियुक्तिपछि काम गर्न अप्ठ्यारो हुने भन्दै उनले रेग्मीको विकल्पका लागि पृष्ठभूमि तयार गरिरहको बताइन्छ । कर्मचारी नियमावली संशोधनका लागि मन्त्रालय मात्रै नभएर लोकसेवा आयोगको समेत सिफारिस चाहिने भएकोले तत्कालै त्यो सम्भव छैन । 

प्राधिकरण स्रोतका अनुसार सुशीलदेवको योग्यतामा समस्या थिएन भने अहिले उनलाई कसैले रोक्न सक्ने अवस्था थिएन । तर प्राविधिक समस्याका कारण उनको नियुक्ति सम्भव देखिँदैन । 

उता पुजन ढुंगेललाई नियुक्ति गर्दा पनि कुनै महत्वपूर्ण निर्णयहरुमा समस्या हुने हो कि भन्ने डर अध्यक्ष सिलवाललाई छ । राजुरमणको पालामा प्राधिकरणले १० वटा बीमा कम्पनी, तीनवटा निर्जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी र सातवटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । 

कतिपय लाइसेन्स ज्यादै विवादितसमेत थिए । यस्तो आँट पुजनले गर्नसक्नेमा सिलवाल विश्वस्त छैनन् । यही अन्योलबीच अहिले प्राधिकरणको कार्यकारी निर्देशक रिक्त राखिएको छ । 

कार्यकारी निर्देशक रिक्त भएको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत चासो राखिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ