arrow

सागसब्जी बेचेर शालिजावासी भित्राए पाँच करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
vegetables-market.jpg

पर्वत ।उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । 

जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको  आम्दानी बढेको हो । 

व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए ।

माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ । 

मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ ।  

शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको  आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ