arrow

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
bishnupaduka-temple.jpg

सुनसरी । धरान उपमहानगरपालिका-२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो ।

मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनको विश्वास छ ।

झापाबाट श्राद्ध गर्न पहिलो पटक आएका मिलन तिम्सिना विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको बताउछन् ।

उनले भने, “बुबाआमाको नाममा श्राद्ध गर्न बराहक्षेत्र र पिण्डेश्वरमा पूजा गरेर यहाँ आएको हुँ । यहाँ आइपुग्न अरु ठाउँ जस्तो सजिलो छैन,बाटो र सवारी साधनको राम्रो सुविधा नभए पनि यहाँ श्राद्ध गर्दा पितृको दिवंगत आत्माले मोक्ष प्राप्त हुने विश्वास छ ।”

मोरङको रङ्गेलीबाट बुबाको श्राद्ध गर्न आएका सुमन विष्टले विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा बुबाको दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहेको बताए ।

विष्णुपादुका मन्दिरमा पितृको सम्झनामा श्राद्ध गर्न नेपालका मात्र नभएर भारतका विभिन्न ठाउँबाट भक्तजन आउने विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले बताए । प्रत्येक वर्षको पौषशुक्ल औंशीका दिन आफ्ना पितृलाई पिण्ड तर्पण गर्न लाखौँको सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।

धरानको मुख्य बजारबाट १२ किलोमिटरमाथि रहेको विष्णुपादुका मन्दिरमा दैनिक एक सय ५० देखि दुई सयसम्म भक्तजन आउने धरान विष्णुपादुका-२० का वडाध्यक्ष पदम लिम्बूले बताए । उनले भने, “यो धार्मिक पर्यटकीय मन्दिर भएकाले यसकोे संरक्षण र प्रचारप्रसारको आवश्यता छ ।”

विसं १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको किंवदन्ती छ ।

यस मन्दिरमा पूजारी तामाङ रहे पनि पितृश्राद्धको विधि चाहीँ ब्राह्मण पुजारीले गर्छन् । उक्त मन्दिरमा पुस्तौँदेखि मुख्य पुजारीको रुपमा तामाङ जाति रहने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ