arrow

मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
padmarga-bhojpur.jpg

भोजपुर । सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा १ करोड ९० लाख रुपैयाँभन्दा बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ।

टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको १ करोड ९० लाख ५० हजार रुपैयाँ लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो।

स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ। 

यसका लागि गाउँपालिकाको ४५ लाख रुपैयाँ, प्रदेश सरकारको ५२ लाख १५ हजार रुपैयाँ, सङ्घीय सरकारको १० लाख ५० हजार रुपैयाँ र स्वीस सरकारको ४२ लाख ५० हजार रुपैयाँ बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए। 

बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उनले बताए।

“मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ। यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ।”

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आवका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताए। 

मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिए। 

“हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह भएकाले त्यसलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ। मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यका रुपमा स्थापित हुँदै गएकाले यसको थप विस्तार र व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेर थप लगानी सुनिश्चितता गरिएको छ”, उनले भने।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत  स्थापित गर्ने योजनाको साथ काम गरिरहेको बताए। 

यो पदमार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उनले बताए।    

“मुन्दुम पदमार्ग सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”, अध्यक्ष बस्नेतले भने, “यो पदमार्गको थप विकासका लागि हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ। यसलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रुपमा स्थापित गराउने लक्ष्य छ।”

मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।

पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ