arrow
ADVERTISEMENT

विपद् प्रभावितलाई तत्काल राहत दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
bipad-jokhim.jpg

काठमाडौँ । वर्षाका कारण भएका विपद्‌बाट आफन्त गुमाएका परिवारलाई तत्काल राहत दिने सरकारी निर्णय कार्यान्वयनलाई तीव्रता दिइएको छ । 

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनाबाट प्रभावित परिवारलाई सकेसम्म छिटो राहत दिने सरकारको योजनाअरूप जिल्लाहरुमा निर्देशन दिइएको छ । सोही आधारमा विपद् प्रभावित जिल्लाले राहत वितरण थालिसकेको प्राधिकरणले जनाएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले आज जिल्लाको मादी गाउँपालिका-५ स्थित घरमा ढिस्को खसेर मृत्यु भएका १३ वर्षकी आयुष्मा रानाभाटका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराएको छ ।

 

कास्कीका प्रजिअ पाण्डेले पीडित परिवारलाई तत्काल राहत दिने सरकारी योजना कार्यान्वयन गर्न घटना घटेको २४ घण्टा नबित्दै राहत उपलब्ध गराइएको जानकारी दिए ।

यही असार ११ गते रातिदेखि परेको अविरल वर्षाका कारण मादी गाउँपालिका-५ निवासी प्रकाश रानाभाटको तीन कोठे कच्ची घरमा बुधबार राती माटोको ढिस्को खसेको थियो । ढिस्को खस्दा कोठामा सुतिरहेकी १३ वर्षिया छोरी आयुष्माको मृत्यु भएको थियो । आयुष्माकी हजुरआमा ७० वर्षीय लालमायालाई सकुसल उद्धार गरिएको थियो । 

पोखरा महानगरपालिका-२७ आरुपाटा निवासी हरि सुनारको ढुङ्गा माटोले बनेको दुई कोठे कच्ची घरमा माटोको ढिस्को खस्दा घरमा सुतिरहेका उनका तीन वर्षिय छोरा अनमोल सुनारको मृत्यु भएको थियो । उनको परिवारलाई पनि राहत दिने तयारी भइरहेको प्रजिअ पाण्डेले बताए ।

मृतककी आमा वर्ष २७ की रितु सुनार घाइते भई हाल गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत रहेकी छन् ।

प्रजिअ पाण्डेले गण्डकी मेडिकल कलेजसँगको समन्वयमा घाइतेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

यही असार ११ र १२ गते देशभरका विपद्जन्य घटनामा १८ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेको गृह मन्त्रालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ