arrow

सिंहदरबार पुगेर बाबुरामले बुझाए प्रचण्डलाई ज्ञापन पत्र

माग पुरा नभए आन्दोलनमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
baburam-bhattarai-03-14.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । 

बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर भट्टराईले प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् । 

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्व प्रधानमन्त्री डा.भट्टराईले जानकारी दिए । 

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरू तीव्रताका साथ अगाडी बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले भने – ‘अहिलेजस्तो विद्युत् प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउने गरी यसलाई तुहाउने अथवा बनाइहालियो भने पनि सानो जलविद्युत आयोजनाको रूपमा बनाउने । त्यतातिर जाँदै छ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरूले चाहेमा संसद्मार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुन्छ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’



लोकप्रिय समाचार
नयाँ