- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गरेकी छन् ।
प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ विमोचन समारोहमा उनले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हावी भएको उल्लेख गरिन् ।
उनले भनिन्, “विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।”
उनले प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गरिन् । विसं २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिर्वतन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उनको भनाइ थियो ।
लेखक प्राडा केसीले ५० लाखभन्दा धेरै जनसङ्ख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा सङ्कट आए कसले बचाउने भन्दै प्रश्न गरिन् । उनले यी विषय पनि पुस्तकमा समेटिएको उल्लेख गरिन् । उनले भनिन्, “मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो ? सिद्धान्त के हो ? पुस्तकमा समेट्ने प्रयास गरेको छु ।”
पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्राडा केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिए । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् प्राडा त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्राडा केसीको पुस्तक ‘स्मृति र अनुभूती’बारे धारणा राखेका थिए ।
आयोजक सुनौलो नेपाल अनलाइनका कार्यकारी अध्यक्ष मोहराज पौडेलले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका प्राडा केसी नेपालको राजनीतिक एवं सामाजिक क्षेत्रमा बुद्धिजीविका रुपमा स्थापित भएको बताए ।
“भ्रष्टाचार माथिबाट बढार्नुपर्छ भने झैँ प्राडा केसीले भ्रष्टाचारजन्य विकृतका लागि ठूला नेतामाथि औला ठड्याउदै आउनुभएको छ”, उनले भने, “प्राडा केसीको यस पुस्तक नेपाली समाज र राजनीति बुझन चाहने सबैका लागि महत्वपूर्ण दस्ताबेजमा विश्वास छ ।”