arrow

वाङ्गजी र जयराम दाइ

logo
लाओस राई,  
प्रकाशित २०८१ असार १५ शनिबार
laos-rai-81-3-15.jpg

प्रसिद्ध अर्थशास्त्री एवं लेखक मार्टिन उल्फले सन् २००८ मा भएको आर्थिक मन्दी, धनी र गरिबबीचको खाडल निर्माण र आर्थिक एवम् राजनीतिक प्रणालीहरूको भविष्यबारे चिन्ताको कारण लोकतान्त्रिक पूँजीवादको संकट देखाएका छन् ।  

जसका दुई मुख्य कारणहरूः एक, बढ्दो आर्थिक असमानता र दुई, अस्थिरता जस्ता कुरामा सारै चिन्ता । विश्व परिवेश हेर्दा चिन्ता गर्नुपर्ने अवस्था पनि देखिन्छ । त्यस विषयमा क्रमश विश्लेष गर्नुपर्छ । अहिलेको बहस वाङ्गजीबाट शुरू गरौँ ।  

विकासवादीहरूको अथक प्रयास, कर्मशील पुस्ताको कडा मेहनत र राम्रो व्यवस्थापनको कारण विश्व अहिले स्मार्ट समाजको अभ्यास गर्दैछ । मानवीय आवश्यकता भन्दा धेरैमाथि उठेर ब्रह्माण्डमा नयाँ नयाँ कुराको अझै सम्भावनाको खोजी गर्ने कर्ममा उत्साही नयाँ पुस्ता कम्मर कसेर लागेको छ । हो, त्यसैले ती कर्मशील पुस्ता वाङ्गजी छन् । वाङ्गजी मतलब स्मार्ट, बिन्दास वा आधुनिक छन्  । झन्डै आठ अर्ब मानिसहरू वाङ्गजीका प्रत्यक्ष पात्रहरू हुन् । आधुनिकताको उत्कर्षमा कुद्दै गरेको विश्व सपनाको संसार भन्दा पनि वाङ्गजीमा केन्द्रित छ ।

वाङ्गजीको प्रसङ्ग उल्लेख गरिरहँदा यो वास्तवमा के हो ? र यसको अर्थ के हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । यद्यपि ती प्रश्नहरूको उत्तर सरल छ किन पनि भने वाङ्गजी मेरो मित्र, भाइ वा नयाँ नयाँ विषयमा छलफल गर्ने साथी हो । 

जिम्मेवारीको हिसाबमा उनी एक युवा राजनीतिक चेतना हुन् । उनको विचार नयाँ, बिन्दास र सशक्त भएर हो कि उनकी आमाले नाम वाङ्गजी राखेकी होलिन् । त्यो पाटोतिर नजाउँ । किनकि त्यो निकै घरायसी हुनसक्छ । हुन पनि वाङ्गजी हरेक विषयलाई नयाँ ढंगले हेर्छन् नयाँ–नयाँ नै निष्कर्ष निकाल्दछन् । 

उनी भन्छन्, ‘पुरानो विषयलाई पनि नयाँ ढंगले हेर्यो भने त्यो नयाँ हुन्छ ।’ त्यही विषयमा विश्व परिक्रमा गरिरहेका छन् । वाङ्गजीको विचार पनि वाङ्गजी जस्तै छ । पूर्वीय सभ्यताहरूमध्ये चीनको कन्फ्युसियसवादको झल्को दिने उनको विचार साँच्चै गजबको छ । 

एक कवितामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले शब्द बुन्दै ‘गर्मिएर, नर्मिएर’ जस्ता ठ्याक्कै अर्थ नलाग्ने शब्द प्रयोग गरेजस्तै  वाङ्गजी पनि नेपालीमा अर्थ भेट्न सकिन्न । यसको मतलव यो शब्द चल्तीमा नआएको भन्ने होइन चल्तीमा मै छ । तर यो आगन्तुक शब्द पनि होइन ।

कुनै विषयमा छलफल वाङ्गजीको अनुउपस्थितिमा हुँदैन । किनकी उनी आधुनिकताको पनि नयाँ आयाम हो । त्यसैले वाङ्गजीको उपस्थिति आवश्यक हुन्छ । उनको विशेषताको प्रसङ्ग उल्लेख गरिरहँदा वा भनिरहँदा एक छलफलमा वाङ्गजीले भनेका थिए, ‘आधुनिकताले जन्माएको नयाँ नयाँ चुनौतीको सामना, पुरानो विचार, सिद्दान्त, नियम, कानून, राजनीतिक  प्रणालीले गर्न सक्दैन । त्यसको निम्ति नयाँ संरचनाको जरुरत पर्दछ ।’ 

कुरा ठीकै पनि हो । विश्वमा अहिले विचार सिद्दान्त, आदर्श वैचारिक  तागतभन्दा भौतिक सम्पत्तिको नै रजगज छ । वाङ्गजी बेलाबेलामा यस्तो वास्तविक र यथार्थ झल्कने विचारहरू दिने गर्दछन्  ।

एक पटक वाङ्गजीले संकटको बारेमा बहुत घतलाग्दो कुरा गरे । विश्वमा सबै व्यवस्था र हरेक प्राणी जगत्लाई संकट आउँछ । त्यो संकटले कसैलाई ठेगान लगाउँछ भने कसैले संकटलाई नै ठेगान लगाउँछ । वाङ्गजीको कुरा र प्रसिद्ध पुस्तक ‘द क्राइसिस अफ डेमोक्रेटिक क्यापिटलिज्म’ मा लेखक मार्टिन उल्फको प्रजातान्त्रिक पूँजीवादमा आईपर्ने संकटको अवस्थामा उल्लेख गर्न खोजेको कुरा लगभग उस्तै देखिन्छ । पुस्तकमा उल्फले चिन्ता गर्दै ‘उदारवादी लोकतन्त्र मन्दीमा छ र अधिनायकवाद बढ्दैछ । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि खुला बजारलाई बाँध्ने सम्बन्धहरू खतरामा परेका छन् । प्रजातन्त्रको केन्द्र, संयुक्त राज्य अमेरिका र इङ्गल्याण्डमा समेत ।’

संसारभर शक्तिशाली आवाजहरूले तर्क गरेका छन् । लोकतन्त्र बिना पूँजीवाद राम्रो हुन्छ तर त्यसको अलावा अरूले पनि तर्क गरेका छन् कि पूँजीवाद बिना लोकतन्त्र राम्रो छ । 

‘वास्तविकतामा हेर्ने हो भने पुस्तक दुवै दृष्टिकोणको लागि बलियो प्रतिक्रिया दिन सफल छ । त्यसकारण यो सम्बन्ध किन यति तनावपूर्ण भएको छ भन्ने गहिरो र स्पष्ट मूल्याङ्कन गर्दा पनि यसले प्रजातन्त्रबाट पूँजीवादको सम्बन्ध विच्छेद किन संसारको लागि विपत्ति हुनेछ भन्ने कुरा स्पष्ट गर्न प्रयत्न गरेको छ  । 

यी दुई पक्ष एकैसाथ रहन गाह्रो भएता पनि उनीहरूलाई एकअर्काको आवश्यकता छ । तसर्थ यी दुवै सङ्कटमा छन् । प्रसङ्ग जोड्दै जाँदा मार्टिन उल्फले उल्लेख गरेजस्तै सङ्कट विश्वको धेरै राष्ट्रहरूमा ज्वलन्त छ । तथापि सामना गर्ने शक्तिहरूको कारण व्यस्थापन गर्दै छन् । 

जहाँसम्म मार्टिन उल्फले भविष्यवाणी गरेजस्तै सङ्कट छ भन्ने प्रसङ्गलाई नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँ विचार, सिद्दान्त, आर्थिक प्रणाली, संस्कृति लगायतका क्षेत्रहरू सङ्कटमा देखिन्छ । सङ्कटको कारण के हो त्यसको उन्मुलन गर्नुपर्छ । 

जसलाई आर्थिक राष्ट्रवादको नीतिलाई प्राथमिकता दिनु जरूरी हुन्छ । विशेषगरी उत्पादन केन्द्रित अर्थव्यवस्था नहुँदा नेपालमा यस्तो प्रकारको सङ्कट आइरहन्छ । 

त्यसको उदाहरण एक जना जयराम राई दाइको दिन चर्याबाट प्रष्ट गर्दछु । लामो समयदेखि घरजग्गा व्यवसायमा जमेका जयराम दाइको राम्रै आम्दानी थियो । झन्डै दुई दशकको अवधिमा धेरैलाई सेवा दिएको बताउने उनी कामप्रति सन्तुष्टि नै थिए । 

धेरै समयपछि ललितपुरमा आयोजित साकेला उभौली कार्यक्रममा भेटघाट हुँदा दाइसँग लामो कुराकानी भयो । कुराकानी देशको राजनीतिदेखि बिग्रदै गरेको आर्थिक अवस्थामा केन्द्रित रह्यो । कुराकानीको सिलसिलामा देश हिजोको जस्तो अवस्था नरहेको र पहिलेकै अवस्थामा देशलाई पुर्याउन के गर्नुपर्छ भन्ने विषयमा धेरै छलफल भयो । 

अहिलेको गतिविधि सुनाउँदै जय दाइले हिजोकै जस्तै जय राई  हुनलाई म धनीपुर्जा (जग्गा धनी पुर्जा, लालपुर्जा) राखेर बियर खाइरहेको छु, भाइ । दाइको कुरा सुन्दा चकित परेँ । दाइको बानी गज्जबको छ । लालपुर्जा भट्टीमा राखेर हरेक दिनको हिसाब त्यही पुर्जाको पछाडि लेख्दै बियर खाइरहेको कुरा रोचक लाग्छ । 

झट्ट हेर्दा दाइको बानी नराम्रोजस्तो लाग्नसक्छ भट्टीमा बियर खाने । तर यथार्थमा हेर्ने हो भने दाइको त्यो बानीले आर्थिक सङ्कटको न्यूनीकरण र कर संकलनको दृष्टिले हेर्ने हो भने सही हो पनि । 

दाइले खुलेर कुरा गर्दै सङ्कट समाधानमा केही गर्न सकिन्छ कि भन्दै जाँड संस्कृतिको शुरूआत गरेको भाइ भन्नुभयो । उहाँले गरेका कुराहरु जुन देशका लागि उपयोगी हुन्छ । दाइ जस्तै झन्डै दुई करोड जनताले हरेक दिन त्यसैगरी बियर (जाँड) खाने हो भने निश्चय नै उपभोग बढ्ने, नयाँ नयाँ जाँड उद्योग खोलिने, राजश्व पनि संकलन हुँदा सङ्कट टर्छ पनि । 

कुरा सरल छ ‘जांड सस्कृति र आर्थिक समृद्धि ।’ मतलब सबैलाई काम देऊ जाँड किनेर खाउँ र सरकारले राजस्व उठाउ । यी तीन कुरा मिले देश स्वतः समृद्धितिर लम्कन्छ । कुरा सरल छ । 

दाइको राष्ट्रिय आर्थिक विकासको लागि जाँड सस्कृति भनेजस्तै मार्टिन उल्फले प्रजातान्त्रिक पूँजीवादमा देखिएको सङ्कट लगभग उस्तै उस्तै हो भन्न मिल्दछ ।  किनकि पूँजीवाद र प्रजातन्त्र एक र्कामा पुरक भए पनि यी दुई विचार बीचको सम्बन्ध सधै द्वन्द्वात्मक छ । 

त्यस्तै सरकारलाई पैसा चाहिएको छ तर जय दाइको जाँड संस्कृति  र नेपालको कानून पनि द्वन्द्वात्मक छ । पूँजीवादले सम्पत्तिलाई केन्द्रिकृत गर्दछ भने प्रजातन्त्रले केन्द्रिकृत प्रणालीको विरोध गर्दै अरु बढी अधिकारहरु नागरिकलाई हस्तान्तरण गर्दछ । त्यस्तै हुने खानेले विदेशी ब्रान्डको हुस्की खाइरहेका छन् । नहुनेले कहीँकतै चाडपर्वमा खाए पनि कानूनले खबरदारी गर्छ । सङ्कट जाँड खाने ठाउँमा पनि छ । 

उदार समाजवादले पूँजीगत वस्तुमा सामाजिक स्वमित्व र निजी सम्पत्ति दुवैको समावेश गर्ने मिश्रित अर्थ व्यवस्थालाई समर्थन गर्दछ । जुन विचार जेएस मिलले पहिलो पटक बेलायतमा प्रयोगमा ल्याएका थिए । उनले समाजवादका केन्द्रिकृत मोडलले रचनात्मकता र प्रतिस्पर्धालाई साँघुरो बनाउँछ । 

त्यसो हुनाले स्वतन्त्रताको प्रतिनिधित्व सरकारमा हुनुपर्छ र त्यस्तो प्रतिनिधित्वले मात्र आर्थिक अवसरहरु निर्माण गर्दछ । मिल अझै भन्दछन् आर्थिक अवसरहरुको राम्रोसँग बाडफाँट भएन भने लोकतन्त्र कमजोर हुने र टिक्न नसक्ने अवस्थामा पुग्छ । 

त्यसैले लोकतन्त्रलाई प्रतिनिधि सरकारको रुपमा होइन एक सम्पूर्ण सामाजिक संगठनको रुपमा लिनुपर्छ । यहाँ मिलले त्यसैबेला लोकतन्त्र पनि सङ्कटमा पर्ने भविष्यवाणी गरिसकेका घटना र मार्टिन उल्फले सिंगो प्रजातान्तिक पूँजीवादमाथि सङ्कट र आपत् छ भन्नु एकै कुरा हो । 

किनकि पूँजीवादी लोकतन्त्रले उदारतालाई भन्दा  पूँजीलाई केन्द्रिकृत गर्छ । त्यसले समाजमा वर्गको निर्माण हुने र दुई वर्गबीच द्वन्द्व गराउने वातावरण निर्माण गर्छ । त्यस्तो द्वन्द्वको बीचमा व्यबस्था सधै सङ्कटग्रस्त नै हुन्छ । कुरा कति सरल छ हरेक कुरामा सङ्कट छ । मित्र वाङ्गजीले पुरानो कुरालाई नयाँ ढंगले हेर्नुपर्छ  । त्यसले पुरानो वस्तु पनि नयाँ देखिन्छ भन्दा पुरानो कुरामा सङ्कट छ भन्ने देखिन्छ । 

वाङ्गजी चर्चित होइन तर मार्टिन उल्फ जस्तै विचार दिन सक्छन् । जय दाइ पनि चर्चित होइनन् तर सङ्कट टार्ने उपायहरू बताउँछन् । त्यसैले मार्टिन उल्फले भनेको जस्तै विश्वमा सबै व्यवस्थामाथि सङ्कट छ । त्यो सङ्कट समाधान गर्न सबै राष्ट्रहरुले विभिन्न उपायहरू लगाइरहेका छन् । जस्तो जय राईको जस्तै नयाँ संस्कृतिको थालनी, जस्तो वाङ्गजीको विचार । त्यसैले त नेपाल वाङ्गजीमय छ । (लेखक कांग्रेस नेता हुन्)                          



नयाँ