arrow

एमाले संसदीय दलको निर्णय

प्रधानमन्त्रीबाट अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रचण्डलाई एमालेको आग्रह [भिडियो]

प्रचण्डले विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने, सरकारलाई कुनै पनि निर्णय नगर्न पनि सचेत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
mahesh-bartaula.jpg

काठमाडौँ ।  नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रूपमा अल्पमतमा परेकाले आजै अविलम्ब राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो । 

यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेससँगको सहमति अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्ब गर्न नहुने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नयाँ सरकार गठनका लागि कांग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तीव्रता दिने काममा सहयोग गरेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेसलाई पनि धन्यवाद दिएको छ ।

प्रमुख सचेतक बर्तौलाले भने,‘कांग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । र यस महत्त्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात् मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली कांग्रेसले जुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । यसप्रति नेकपा एमालेको यस संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं । त्यसै गरी यो सरकारलाई दिएको समर्थन नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरूले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्पमतमा परेको छ । यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन । त्यसकारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यसकारण अविलम्ब नेपाल सरकारका प्रधानमन्त्रीलाई काम चलाऊ प्रधानमन्त्रीको रूपमा रहेको प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रशस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ । त्यो माग गरेको छ । सरकार अहिले अल्मतमा परेको छ । तथापि पनि विभिन्न प्रकारका निर्णयहरू गरिराखेको छ । हामी त्यस्तो सुनिरहेका छौं । निर्णयहरू सार्वजनिक भइरहेका छन् । कुनै पनि निर्णयहरू नगर्नका लागि यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन । त्यो हैसियत, त्यो मत गुमाइसकेको छ । त्यो मत गुमाएको सरकारले अहिले पनि विभिन्न निर्णयहरू गर्नु त्यो राष्ट्रिय हित विपरीत हुन्छ । संविधान विपरीत हुन्छ । त्यसकारण कुनै पनि निर्णयहरू नगर्नका लागि सरकारलाई हाम्रो बैठकले सचेत गराएको छ । हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्यूलाई आजै अहिले नै अविलम्ब राजीनामा दिन हामो सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ त्यो हाम्रो माग हो । यति सम्माननीय प्रधानमन्त्रीज्युले राजीनामा दिनुभएन भने उहाँले २८ गते संसद्मा विश्वासको मत माग्ने गरी पत्र पठाउनुभएको छ । त्यो जानकारी प्राप्त भएको छ । हाम्रो पहिलो माग तत्काल राजीनामा हो । यदि यहाँले राजीनामा दिनु भएन भने २८ गते माग्नुभएको विश्वासको मतको विपक्षमा नेकपा एमालेको तर्फबाट मतदान गर्ने निर्णय गरेका छौं । अन्तिममा नेकपा एमालेका सांसद आस्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधनप्रति विभिन्न आशंका गरिएको छ । सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरिएको छ ।’

त्यसै गरी एमालेले काम चलाऊ अवस्थामा पुगेकाले सरकारलाई कुनै पनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताउनु भयो । पार्टीका सांसद आस्मा चौधरीकी पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै त्यसमा देखिएको आशंका निवारण हुने गरी छानबिन गर्न पनि नेपाल प्रहरीलाई अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ