arrow

दुई मिनेटका लागि किन दोहोर्‍याएर बस्यो प्रतिनिधि सभा बैठक ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
parliament-81-3-23y.jpg

काठमाडौँ । आइतबार प्रतिनिधि सभा बैठक दोहोर्याएर बसेको छ । पहिलो पटक बिहान ११ बजेट बसेको बैठक दोस्रोपटक साढे २ बजेटका लागि बोलाइएको थियो । २ः३० का लागि समय तय गरेको भए पनि बैठक शुरु भने करिब एक घण्टापछि मात्रै भयो । 

तर एक घण्टापछि शुरु भएको बैठक २ मिनेटमै स्थगित भयो । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभामा उत्पत्ति भएको केही लगानी सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्न लगाएर बैठक स्थगित गरिएको हो । तर यतिकै लागि किन दोहोर्याएर बैठक बोलाइयो त ? 

सरकारले लगानी सम्मेलनअघि अध्यादेशमार्फत् उक्त ऐनहरु संशोधन गरेको थियो । बैशाख २८ गते संसदको बजेट अधिवेशन शुरु भएको ६० दिनभित्र उक्त अध्यादेश पास गरिसक्नुपर्ने व्यवस्था छ अन्यथा उक्त अध्यादेश निष्क्रिय हुन्छ । उक्त अध्यादेश सक्रिय हुने मिति आजसम्म मात्रै थियो । 

तर संसदमा टेबल गर्नै ढिला भएको र बजेट पारित गर्नुपर्ने चापका कारण विधेयकउपर छलफल हुन ढिलाइ भयो । सोही कारण उक्त विधेयक राष्ट्रिय सभामा जानसमेत ढिला भयो । 

आजको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यक्रम थियो । राष्ट्रियसभाबाट पारित भएको विधेयक र त्यहाँबाट प्राप्त भएको सन्देश प्रतिनिधिसभामा टेबल भएपछि मात्रै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउन सकिने अवस्था थियो । 

राष्ट्रियसभा चल्दै गर्दा प्रतिनिधिसभाको अन्य कार्यसूची सकिएपछि सभामुखले आजै बस्नेगरी बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभाले विधेयक पारित गरेपछि आजै उक्त विधेयक सुझावसहित टेबल गरेर प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ