arrow

दूध किसानले पाए सोह्र लाख अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
cow-milk-farmer.jpg

बागलुङ । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम भित्र्याएका छन् ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ ।

घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । दूधमा भने प्रतिलिटर रु २.५ अनुदान दिँदै आइएको उनले जानकारी दिए ।

यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको रु २४ लाखमध्ये रु १६ लाख ४२ हजार रकम सोझौँ किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिए ।

अनुदान पाउन एउटै सङ्कलन केन्द्रले दैनिक दुई सय लिटर दूध सङ्कलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए ।

“संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्याङ्कका आधारमा रु दुई दशमलव पाँचका दरले अनुदान दिएका छौँ”, सापकोटाले भने, “सात वटा सहकारीमार्फत दूधको सङ्कलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन् । सहकारीको खातामा राखिएको रकम सहकारीले सङ्कलन गरेको दूधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ ।”

केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर रु २.५ का दरले दूधमा अनुदान दिएको हो ।

सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गरेका छन् ।

दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए ।

उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्याङ्कको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई रु २.५ का दरले दूधमा अनुदान दिन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ