arrow

प्रचण्डलाई विश्वासको मत दिन माओवादीले लगायो व्हीप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
hitraj.jpg

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि व्हीप जारी गरेको छ ।बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन व्हीप जारी गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए । उनले आगामी दिनमा वामपन्थी शक्तिहरूको बीचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने विषयमा प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभएको बताए । 

उनले भने – ‘हामी २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट व्हीप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरूलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपिल गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको छ । विश्वासको मतमा आएको परिणामको आधारमा एकताबद्ध भएर जनताको पक्षमा, संविधान कार्यान्वयनको पक्षमा, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा दृढताका साथ लड्ने भन्ने विषयवस्तु भयो । हाम्रो पार्टीको तर्फबाट अध्यक्षले जसरी वामपन्थीहरू बिचको एकतालाई अगाडी बढाउने बारेमा समाजवादी मोर्चालाई अगाडी बढाउने बारेमा जुन कुराकानी भएको थियो । कहीँ न कहीँ यो के हुने हो भन्ने स्थिति थियो । अहिले यसले धेरै स्पष्ट बनाएको छ । अब हामी सशक्तका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रस्तुत भएर अगाडी बढ्ने भन्ने निर्णय भएको छ ।’

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमति गरेको भन्दै ओलीले ढाँटछल गरेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ