arrow

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्सानबिच त्रिपक्षीय समझदारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
global-ime-ime-jalsan.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । 

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय ब्यवस्थापनमा सहयोग पुग्नेछ । 

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ । 

यसैगरी आईएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिषा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरुलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आईएमईबाटै सरलताका साथ पैसा पठाउन सक्नेछन् । 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् । 

ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४८ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ