- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार बजेट नै पास नगरी बिदा हुने निश्चित भएको छ । बजेट अन्तर्गत आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक र भन्सार विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित गर्ने कार्यसूची थियो । तर बिहीबारको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
अर्को बैठक असार ३० गतेका लागि बोलाइएको छ । जबकि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने बित्तिकै उनी स्वतः पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकार गठन प्रारम्भ हुनेछ । उक्त बजेट आगामी सरकारको नेतृत्वमा पारित गर्नुपर्ने देखिएको छ ।
किन भयो संसद बैठक स्थगित ?
राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयक बजेट ल्याउँदा सत्ता साझेदार रहेको नेकपा एमालेले संशोधन प्रस्ताव दर्ता गराएसँगै माओवादीको जोडबलमा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको हो ।
आज बैठक बसेको भए राष्ट्रिय सभाबाट बजेट फेल हुने सम्भावना थियो । बजेट फेल गराएर प्रधानमन्त्रीबाट राजीनामा गर्न दाहाललाई नैतिक दबाब दिने रणनीति एमालेको थियो । तर संशोधन प्रस्ताव फिर्ता नलिए बैठकमा सहभागी नै नहुने अडान अर्थमन्त्री वर्षमान पुनले लिएका थिए । उनी संसदमा जाँदै गएनन् ।
राष्ट्रिय सभामार्फत सरकारलाई राजीनामाका लागि बाध्य पार्ने अवस्था भएपछि माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष बनेका नारायण दाहालले बैठक नै स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनलाई सजिलो बनाइदिएका हुन् ।
अब झनै अप्ठ्यारो
यसअघि प्रतिनिधि सभाबाट बजेटसँग सम्बन्धित सबै विधेयक र राष्ट्रिय सभाबाट विनियोजन पारित गर्दा प्रतिपक्षी कित्तामा पुगेको एमालेले समर्थनमै पारित भएको थियो । सरकार परिवर्तन हुने भएपछि कांग्रेस भने तटस्थ बसेको थियो ।
अबको राष्ट्रिय सभा बैठकमा कांग्रेस र एमाले सत्ता पक्षीय कित्तामा पुग्नेछन् भने माओवादी प्रतिपक्षमा पुग्नेछ । अहिले आफ्नै नेतृत्वमा पारित भएको विधेयकलाई विरोध गर्न माओवादीलाई नैतिक रुपमा अप्ठ्यारो हुनेछ । त्यस्तै कांग्रेसलाई पनि अहिले विरोध गरिरहेको बजेटलाई समर्थन गर्न नैतिक समस्या हुने देखिएको छ ।