arrow

कास्की पहिरो अपडेट : पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
pokhara-pahiro-puranchaur.jpg

पोखरा । कास्कीमा अविरल वर्षासँगै पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ मा ७, पोखरा-३२ मा ३ र मादी गाउँपालिका वडा नं. ११ मा १ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा १९ को तल्लाकोट टारी भन्ने स्थानमा गएराति १०ः२० बजे घर पछाडिबाट आएको पहिरोले कुलबहादुर परियारको टिनले छाएको १ तले कच्ची घर पुरिँदा एकै परिवारका ६ जना र उद्धार गर्न गएकी १ महिलाको ज्यान गएको हो ।

मृत्यु हुनेमा घरधनी ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, कुलबहादुरकी आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियार छन् ।

यसैगरी कुलबहादुरकी विवाहिता छोरी चितवन घर भएकी २० वर्षीया प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियारको पनि सोही घटनामा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

साथै घटनालगत्तै उद्धार गर्न गएकी छिमेकी ५६ वर्षीया राधिका परियारको लडेर मृत्यु भएको डीएसपी शर्माले जानकारी दिए ।

सो घटनामा राधिकाका छोरा ३१ वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

यता पोखरा महानगरपालिका वडा नं ३२ को चैतपुर बाह्रबिसेमा शुक्रबार बिहान २ः१५ बजे पहिरोमा पुरिँदा ३ जनाको ज्यान गएको छ । स्थानीय आरती ओझाको टिनले छाएको १ तले घर पछाडिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतिक सुवेदी छन् । सो घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो पात्लेस्थित पहिरोले घर पुरिँदा १ वृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा ८० बर्षीया माइतीकुमारी गुरुङ छन् ।

अविरल वर्षासँगै शुक्रबार बिहान १ बजे घर माथिबाट आएको पहिरोले जस्ताले छाएको १ तले कच्ची घर पुरिँदा सो घटना भएको डीएसपी शर्माले जानकारी दिए ।

सो घटनामा परेका ५५ वर्षीय ओमबहादुर गुरुङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले ओमबहादुरको उद्धार गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ