arrow

चितवनको भरतपुरका तटीय क्षेत्रका वडामा निगरानी बढाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
narayani-81-3-30i.jpg

चितवन । चितवनस्थित भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटीय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ ।

आइतबार सिमलताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका वडा नम्बर १, ३, १६,१७, १८, २६, २७, २८ र २९ का स्थानीयलाई आग्रह गरेकी हुन् ।

‘तटीय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन् । उनले भनिन्, ‘सुरक्षाकर्मीसँगै तटीय क्षेत्रमा बसोबास गर्ने जनताले निगरानी बढाउँदा थप शवहरु फेला पर्दछन् । यसका लागि स्थानीय संयन्त्र पूर्ण रुपमा परिचालन भइरहेको छ ।’

भरतपुर महानगरपालिकाले दुर्घटनामा वेपत्ताहरु खोज कार्यका लागि घटना भएको दिनदेखि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरिरहेको प्रमुख दाहालले स्पष्ट पारेकी छन् । 

बेपत्ताको खोजी कार्यका लागि गोताखोर परिचालन भइरहेको स्थानमा निरीक्षणका साथै उद्दारमा खटिएका सुरक्षाकर्मीसँग ताजा अवस्थाबारे जानकारी लिएकी छिन्  ।

होटल व्यवसायी महासंघले पीडित परिवारलाई खाना, बस्नका लागि प्रबन्ध मिलाइरहेको र पीडितलाई थप सहजीकरणको लागि भरतपुर महानगरपालिका तयार रहेको उनको भनाइ थियो ।

भरतपुर महानगरका प्रमुख दाहालसहित उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी घटनास्थल पुगेका थिए ।

भरतपुर २९ को सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रु वेपत्ता छन् ।

बेपत्तामध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।

बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको छ ।

पानीको सतह केही घटे पनि बाहव भने उच्च रहेकाले खोजी कार्यमा असहज भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । 

उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ