arrow

विष्णु पौडेल सातौँपटक सिंहदरबारमा, कांग्रेससँग पहिलो साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
bishnu-poudel-81-3-31-minis.jpg

काठमाडौँ । सुपर मिनिस्ट्रीको रुपमा चिनिने अर्थ मन्त्रालयको कमाण्डमा विष्णुप्रसाद पौडेल चौथोपटक पुगेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित सपथ समारोहमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीको सपथ ग्रहण गराउँदै अर्थमन्त्रीको जिम्मेवारी दिएका हुन् । 

पौडेल पहिलोपटक २०७२ सालमा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री भएका थिए । त्योबेला उनले झण्डै ९ महिना मन्त्रालय चलाएका थिए । ओलीको दोस्रो कार्यकालको अधिकांश समय अर्थमन्त्रीमा युवराज खतिवडा भए पनि राष्ट्रिय सभामा उनको कार्यकाल सकिएको ६ महिनापछि पौडेल नै अर्थमन्त्रीमा आएका थिए । 

तेस्रोपटक डेढ वर्षअघि उनी अर्थमन्त्री बनेका थिए । तर एमाले र माओवादीबीचको सम्झौता बमोजिम राष्ट्रपति नपाएपछि एमाले सरकारबाट बाहिरिएको थियो । त्यो समयमा पौडेलले झण्डै २ महिना मन्त्रालय चलाएका थिए । 

मन्त्रीको रुपमा भने उनको यो सातौँ कार्यकाल हो । पौडेल २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा पहिलोपटक युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। 

२०६५ सालमा माओवादी नेतृत्वको सरकारमा जलस्रोत मन्त्री भएका थिए। त्यस्तै २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए। २०७२ सालपछि चार पटक अर्थमन्त्री बनेसँगै उनको सातौँ कार्यकाल शुरु भएको हो । 

पौडेल २०५१ को प्रतिनिधि सभा निर्वाचनमा पाल्पा–३ बाट निर्वाचित भएका थिए। त्यस्तै २०६४ र २०७० को संविधान सभा निर्वाचनमा रुपन्देही–४ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने रुपन्देही–२ बाट निर्वाचित भएका थिए। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–३ मा पराजित भएका थिए। 

नेकपा एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन प्रमुख भूमिका खेलेका उनी एकीकृत दलको महासचिवसमेत बनेका थिए । 

यसअघि ६ पटकसम्म मन्त्री बन्दासमेत कांग्रेससँगको साझेदारीको सरकारमा सहभागी नभएका उनको यसपालिको कांग्रेससँग पहिलो सत्ता साझेदारी हो । प्रधानमन्त्री ओलीले भने यसअघि कांग्रेस नेतृत्वको सरकारमा सहभागिता जनाइसकेका छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको सर्वदलीय सरकारमा ओली उपप्रधानमन्त्री थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ