- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आफूलाई नियुक्त गर्ने व्यक्तिमाथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बफादार बन्दा मौद्रिक नीति रोकिएको छ ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरे पनि हिजोमात्रै नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाका कारण मौद्रिक नीति रोकिएको हो । अहिले मौद्रिक नीति व्यवस्थापन तहबाट पास भएर सञ्चालक समितिमा पठाइएको छ ।
नियुक्त भएलगत्तै खतिवडाले मौद्रिक नीति आफूलाई नदेखाइ सार्वजनिक नगर्न भनेको बताइएको छ । गभर्नर अधिकारीले खतिवडाको निर्देशन पालना गर्दै आज बिहानका लागि निर्धारित सञ्चालक समितिको बैठक स्थगित गरेका हुन् ।
यसअघि बिहान ८ बजे सञ्चालक समितिबाट पारित गरेर बेलुकी ४ बजे ममौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो ।
२०७६ चैतमा राष्ट्र बैंकका गभर्नर नियुक्त भएका अधिकारीलाई खतिवडार्क जोडबलमा नियुक्त गरिएको थियो । तत्कालीन समयमा प्रधानमन्त्रीमा केपी शर्मा ओली र अर्थमन्त्रीमा डा युवराज खतिवडा थिए ।
उनकै नेतृत्वमा बनेको छनोट समितिको सिफारिस र उनकै उपस्थितिमा रहेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर बनाएको थियो ।
कानूनी व्यवस्था अनुसार राष्ट्र बैंक आफ्ना नीति नियमहरु बनाउन र कार्यान्वयन गर्न स्वतन्त्र हुन्छ । सरकारले समेत यसमा हस्तक्षेप गर्न सक्दैन ।
समन्वयका लागि अर्थ मन्त्रालयका सचिव प्रतिनिधि रहने व्यवस्था भए पनि बाँकी सबै सदस्य स्वतन्त्र रहने भएकोले रााष्ट्र बैंकमा सरकारको हस्तक्षेप हुन नसक्ने अवस्था कानूनले सिर्जना गरेको छ । तर अधिकारीले भने खतिवडाप्रतिको बफादारीता देखाएका छन् ।
खतिवडाको हस्तक्षेप हुने भएपछि लचिलो मौद्रिक नीतिको आशामा समेत धक्का लाग्ने देखिएको छ । मौद्रिक नीतिमा लचिलो व्यवस्था आउने आशमा केही दिनदेखि शेयर बजार परिसूचकमा उछाल आएको थियो ।
खतिवडाप्रति बजार त्यति सकारात्मक छैन । उनी अर्थमन्त्री हुँदा निराशाजनक अवस्थामा रहेको शेयर बजार विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि सुधारिएर ३२ सयको हाराहारीसम्म पुगेको थियो ।