- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। मौद्रिक नीति आज पनि नआउने भएको छ । गत शुक्रवारकै लागि सार्वजनिक गर्न ठिक्क पारेर राखिएको मौद्रिक नीति अझै केही दिन लम्बिने देखिएको हो ।
शुक्रवार बेलुकी ४ बजेका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको थियो । त्यसका लागि बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर, बिहीबार मात्रै नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाको हस्तक्षेपमा रोकिएको थियो ।
उक्त मौद्रिक नीति आइतबार सार्वजनिक हुने अपेक्षा गरिए पनि आइतबार सञ्चालक समितिको बैठक नै बोलाइएन । केन्द्रीय बैङ्कको सञ्चालक समितिको बैठक सामान्यतया कार्यालय समय बाहिर बस्छ । अहिलेसम्म बैठक नबोलाइएको र बोलाइ पनि आज मौद्रिक नीति सार्वजनिक गर्न भ्याउने अवस्था नभएको राष्ट्र बैङ्कका एक सञ्चालकले बताए ।
किन हुँदै छ ढिलाइ ?
स्रोतका अनुसार राष्ट्र बैङ्क व्यवस्थापन समितिले पास गरिसकेको मौद्रिक नीतिको ड्राफ्ट खतिवडाकहाँ पुगेको छ । यसमा गर्नुपर्ने परिवर्तनबारे खतिवडाले गभर्नर अधिकारीसँगै डिल गरिरहेका छन् । त्यहाँबाट फाइनल भएर आएपछि अधिकारीले सञ्चालक समितिको बैठक बोलाउनेछन्।
त्यसो त, आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम रहेकोले राजनीतिक माहौलसँग जुधाएर मौद्रिक नीति सार्वजनिक हुनसक्ने सम्भावना थिएन । मौद्रिक नीतिको ड्राफ्टमा खतिवडाले गर्न चाहने परिवर्तनको आधारमा अबको समय निर्धारण हुने ती सञ्चालकको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।
‘आर्थिक सल्लाहकारले सामान्य सुझाव दिन खोज्नुभएको हो भने भोलि बेलुकासम्म सार्वजनिक हुन सक्ला, ठुलै परिवर्तन गर्न खोज्नुभयो भने चाहिँ शुक्रवारसम्मै पुग्न पनि सक्छ,’ राष्ट्र बैङ्कका ती अधिकारी भन्छन्।