arrow

एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न यस वर्षको निर्णय निर्णायक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
united-nations.jpg

काठमाडौँ ।  सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

सन् २०२३ को तथ्याङ्कले नयाँ सङ्क्रमणको सङ्ख्यामा विश्वव्यापी सुधार, एचआईभी सङ्क्रमित बिरामीको उपचार र मृत्युहुनेको सङ्ख्यामा कमी आएको देखाउँछ । यद्यपि, यूएनएड्सले यस्तो प्रगति कमजोर रहेको चेतावनी दिएको छ ।

राष्ट्रसङ्घको नयाँ प्रतिवेदनअनुसार करिब चार करोड मानिस एचआईभी भाइरसबाट पीडित छन् ।

सन् २०२२ को तुलनामा गत वर्ष करिब १३ लाख नयाँ सङ्क्रमित थपिएका थिए तर सन् १९९५ मा ३३ लाख व्यक्ति नयाँ सङ्क्रमित फेला परेको थियो । यो नै एड्सबाट नयाँ सङ्क्रमण भएका व्यक्तिको सबैभन्दा बढी सङ्ख्या थियो । पछि यो सङ्ख्यामा क्रमशः उल्लेखनीय गिरावट आएको हो ।

तर दीर्घकालीन प्रवृत्ति हेर्दा नियन्त्रणका लागि लिएको लक्ष्यमा पुग्न अझै धेरै टाढा रहेको देखिन्छ । यूएनएड्सले अर्को वर्षका निर्धारित तीन लाख ३० हजार नयाँ सङ्क्रमणमा सिमित गर्ने लक्ष्यभन्दा धेरै टाढा छ ।

सन् २०२२ मा एड्सका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ७० हजार रहेकोमा गत वर्ष छ लाख ३० हजारमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन । तीन करोड ७० हजार व्यक्तिले एन्टिरेट्रोभाइरल औषधिको पहुँच पाएको देखिन्छ जुन लक्ष्यभन्दा निकै टाढा हो ।

यद्यपि, सन् २०१० मा यो पहुँच मात्र ७७ लाखमा सीमित थियो ।

पूर्वी र दक्षिणी अफ्रिका यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू रहेका छन्, जहाँ प्रति हजार २०.८ जना एचआईभी सङ्क्रमित छन् । गत वर्ष यो क्षेत्रमा थप चार लाख ५० हजार व्यक्ति सङ्क्रमित भएका थिए र दुई लाख ६० हजारको मृत्यु भएको थियो ।

यूएनएड्सका प्रमुख विनी ब्यानिमाले सन् २०३० को लक्ष्य हासिल गर्ने दिशामा विश्व सही बाटोमा नरहेको बताए । 

“एचआईभी महामारीलाई बढावा दिने असमानताहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएको छैन,” ब्यानिमाले रिपोर्टमा भनेका छन् । 

“एड्ससँग सम्बन्धित कारणले हरेक मिनेटमा एक व्यक्तिको मृत्यु हुन्छ,” उनले भने । 

लाञ्छना, भेदभाव र कहिलेकाहीं अपराधीकरणले निश्चित समूहलाई असर गर्छ र यसको परिणामस्वरूप सङ्क्रमण दर धेरै उच्च हुन्छ किनभने मानिसहरू खतरा बिना मद्दत र उपचार लिन चाहँदैनन् वा असमर्थ हुन्छन् ।

पूर्वी र दक्षिणी अफ्रिकामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसमा एड्सको प्रकोप ०.८ प्रतिशत छ भने कैदीहरूमा १.३ प्रतिशत र १५ देखि २४ वर्ष उमेर समूहका महिला तथा किशोरीहरूमा २.३ प्रतिशत छ ।

यौनकर्मी, लागूपदार्थको सुई लगाउने व्यक्ति, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष र तेस्रोलिङ्गीमा सङ्क्रमण दर अझ बढेको छ । 

तथ्याङ्कअनुसार, विश्वभर यौनकर्मी तीन प्रतिशत, लागूपदार्थको सुई लगाउने व्यक्ति पाँच प्रतिशत, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष ७.७ प्रतिशत र तेस्रोलिङ्गी ९.२ प्रतिशत सङ्क्रमित रहेको देखिन्छ । 

“उप–सहारा अफ्रिकाका केही देशहरूमा सन् २०१० यता नयाँ सङ्क्रमणमा आधाभन्दा बढीले कमी आएको छ”, ब्यानिमाले भने, “हामीसँग पूर्वी युरोप, मध्य एशिया र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरू पनि छन् जहाँ हामी नयाँ संक्रमणहरू गलत दिशामा गइरहेको र बढ्दै गएको देख्छौं।”

पूर्वी युरोप र मध्य एसियामा एचआईभी सङ्क्रमितमध्ये आधाको मात्र उपचार हुन्छ भने मध्यपूर्व र उत्तर अफ्रिकामा यो सङ्ख्या ४९ प्रतिशत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ