arrow

एसभित्र सांसद टिकाउन सकस

एसका सांसद सम्हाल्ने जिम्मा हाइकमाण्डलाई, फुट्ने अवस्थामा ओलीले सहजीकरण गर्ने  

एमालेमा जान खुट्टा उचालेर बसेका तीन सांसद अर्को पार्टी प्रवेश गर्दा पद नै जाने भएकाले अलमलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
ncp-united-ga-81-3-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले महाधिवेशनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक राखेको छ । पार्टीभित्र देखिएको असन्तुलनलाई मिलाउनका लागि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागि यो बैठक राखिएको छ । 

साथै पार्टीको तर्फबाट सांसद बनेका व्यक्तिहरुमा आएको विचलनबारे छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको बताइए पनि सांसदहरुलाई फकाउने र थर्काउने कामचाहिँ पार्टीको हाइकमाण्डबाट गरिने बताइएको छ ।

पाटीभित्रबाटै अलि टाढा रहेका प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बूढाको अवस्थाबारे नेता कार्यकर्ता जानकार रहेका भए पनि उनीहरुलाई सांसदकै रुपमा कसरी टिकाउने भन्ने विषयमा पार्टीका नेताहरुले केही बताएका छैनन् ।  

पछिल्लो समय प्रेम आले र किसान श्रेष्ठले पाटी छाड्न लागेको हल्ला पार्टीभित्रै छ । उनीहरु सांसद नभएको भए र कानूनी अड्चन नभएको भए यसअघि नै एमालेमा फर्किसक्ने थिए । तर अहिले एक पार्टीको सांसद अर्को पार्टी प्रवेश गर्दा सांसद पद नै जाने भएकाले अलमलमा परेर बसेका छन् ।

एसभित्र चलेको चर्चाअनुसार आले पार्टी छोड्ने अन्तिम तयारीमा छन् । आलेसँग सांसद धनबहादुर बूढा पनि पार्टी छोड्ने सुरसारमा छन् । एस छोडेर एमालेमा फर्किने उनीहरूको तयारी छ । 

स्रोतका अनुसार आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गरेको भए पनि उनीहरु पार्टी प्रवेश गरिहाल्ने अवस्थामा पुगिसकेका छैनन् । 

गत असारको एसको महाधिवेशन बहिष्कार गरेर तीर्थाटन पुगेका आलेलाई पार्टीले कारबाही स्वरुप केन्द्रीय सदस्यबाटै हटाइसकेको छ ।

‘आलेले गल्ती महसुस गरेमात्रै उनी केन्द्रीय सदस्य हुन सक्छन् नत्र उनलाई कुनै जिम्मेवारी दिइने छैन’, एसका एक उच्च नेताले भने ।

आले नयाँ गठबन्धनसँगै एस छोड्ने तयारीमा थिए । त्यसबेलामा ओलीसँग आलेले लामो छलफल भएको थियो ।

छलफलमा धनबहादुर बूढा पनि सहभागी थिए । किसान श्रेष्ठले त मधेस प्रदेशको एक कार्यक्रममा केपी ओलीको अन्त्यन्त ठूलो प्रशंसा नै गरेका थिए । 

महाधिवेशन अवधिमा धनबहादुर बूढा पनि देखिएनन् । नेताहरूका अनुसार त्यतिबेला सहरी विकासमन्त्रीसमेत रहेका बूढाले महाधिवेशनका लागि आर्थिक सहयोग पनि गरेका थिएनन् । 

अध्यक्ष माधवकुमार नेपालले महसुस गर्ने गरी दुवै सांसदले पार्टीलाई बहिष्कार गरेका थिए भने पार्टीको महाधिवेशनमा उपस्थित भएका श्रेष्ठले पनि पार्टी पद्धतिको खुलेर विरोध गरेका थिए ।

‘प्रेम आले महाधिवेशनमा उपस्थित हुनुभएको थिएन, त्यसकारण उहाँ केन्द्रीय सदस्य बन्नु भएन, अब के हुन्छ पार्टीले छलफल गर्ला’, नेकपा एसका निवर्तमान प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

गत आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत दिने वा नदिने विषयमा छलफपल गर्न बोलाइएको एसको संसदीय दलको बैठकमा पनि आले अनुपस्थित भएका थिए ।

तर विश्वासको मत दिने दिन संसदमा आले उपस्थित भएका थिए । उनले ओलीको विपक्षीमा मतदान गरेका थिए । 

आलेले पार्टी विभाजन गराउन भने नसक्ने भएकोले उनी एक्लै एमालेमा जाने संभावना कम रहेको छ । 

आलेसँगै अन्य सांसद पनि जोडिए भनेचाहिँ ओलीले पार्टी विभाजनमा सहजीकरण गर्नसक्ने संभावना रहेको स्रोतको दाबी छ । 

एस राष्ट्रिय पार्टी नभएकोले उक्त पार्टीका सांसदको भूमिका स्वतन्त्र हुने कानूनी व्याख्या हुने गरी निर्वाचन आयोगले सहजीकरण गरिदिन सक्ने बताइन्छ । 

आले मात्र होइन एसका सांसद भानुभक्त जोशी, अम्मरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका सांसद पनि असन्तुष्ट रहेका छन् । 

उनीहरु सबैले माधव नेपाललाई छाड्ने परिस्थिति बनेमा ओलीले सहजीकरण गर्ने स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ