arrow

किन घट्यो वीरगञ्ज भन्सारको कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
birjung-custom-office.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशी मुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो  ।

आव २०८०–८१ मा यो नाका हुँदै रु ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ । जबकि आव २०७९–८० को तुलनामा गत आवमा मात्रै आयात १२.८५ प्रतिशतले घटेको छ । 

आव २०७९–८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो । विश्वका एक सय १२  मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए ।

 ‘‘गत आवमा समग्र मुलुकभरिको अर्थतन्त्र सुस्ताएको कारणले आयात र निर्यात दुवै खुम्चिएको छ,’’ उनले भने, ‘‘अघिल्लो आवको तुलनामा गत आवमा आयात घटेपनि भन्सारका अन्य सूचक पनि राम्रो भएकाले केही मात्रामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’’  

कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगञ्ज भन्सार कार्यालय हुदैँ विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ । 

गत आवमा  ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार मूल्य बराबरका नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ । जबकी अघिल्लो आव २०७९–८० मा यो नाकाहुँदै  ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । 

आघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ दशमलव ४४ प्रतिशतले निर्यातमा कमी आएको छ ।  यो नाका हुँदै करिब ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ ।

यो नाकामा कारोबार घट्नुको पछाडि भ्रष्टाचार बढी भएको विभिन्न स्रोतले बताउँदै आएका छन् । भ्रष्टाचारका लागि नै अनियमित रुपले भन्सार करमा हेरफेर गरी सामान आयात तथा निर्यातमा छुट हुँदै आएकोसमेत आरोप छ । विभिन्न समूह यसमा सहभागी हुँदै आएको बताइन्छ । 

आव २०७९–८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२ दशमलव ९३ प्रतिशत गिरावट आएको छ । आव २०८०–८१ म यो नाका हुँदैछ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजारको वैदेशिक व्यापार भएको थियो ।

जबकि अघिल्लो आव २०७९र८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रहेको छ । यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ