arrow

वालेटबाट पैसा ट्रान्सफर गर्दा चार्ज लाग्न थालेको हो ? यस्तो छ वास्तविकता

सर्वसाधारणलाई असर नपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
digital-wallet-payment-nepal-veg-market.jpg

काठमाडौँ। नेपालमा सञ्चालित भुक्तानी सेवा प्रदायकहरूले ठूलो रकम र एकै दिन धेरै सङ्ख्यामा कारोबार गर्ने सेवाग्राहीसँग शुल्क लिन थालेका छन्। नेपालमा सञ्चालित सबैजसो सेवा प्रदायकहरूले एक आपसमा सहमति गरी केही दिन अघिदेखि यस्तो शुल्क लिन थालेका हुन्।

यसअघि एउटै सेवा प्रदायकको वालेट प्रयोग गर्ने ग्राहकले एउटा व्यक्तिबाट अर्को व्यक्तिको वालेट अकाउन्टमा पैसा पठाउँदा कुनै शुल्क लाग्दैनथ्यो। यसरी रकम पठाउने अधिकतम सीमा र सङ्ख्या भने नियामक निकायले तोके बराबर हुने गर्थ्यो।

तर, अब भने एकै दिन धेरै पटक कारोबार गर्ने तथा ठूला कारोबार गर्ने व्यक्तिहरूका हकमा प्रतिकारोबार १० रुपैयाँको दरले सेवा शुल्क लिन थालिएको छ। योसँगै बजारमा पीएसपीहरुले शुल्क लिन थालेको व्यापक हल्ला समेत भइरहेको छ। कतिपयले यसको विरोध गरेका छन् भने कतिपयले भ्याट लगाएका कारणले शुल्क तिर्नुपरेको भन्दै सरकारको आलोचना समेत गरेका छन्। 

कस्तो कारोबारमा लाग्छ शुल्क ? 
भुक्तानी सेवा प्रदायकहरू बीचको सहमतिमा तय गरिएको शुल्क अनुसार एक दिनमा तीन पटकभन्दा धेरै कारोबार गर्ने र एक पटकमा १०० रुपैयाँ भन्दा धेरै रकम ट्रान्सफर गर्दा शुल्क लिने व्यवस्था गरिएको छ। यस्तो भुक्तानीमा प्रति पटक १० रुपैयाँसम्म चार्ज जोड्ने व्यवस्था गरिएको छ। 

यस अनुसार दिनमा तीन पटकसम्म जतिसुकै रकम ट्रान्सफर गर्दा पनि पैसा लाग्दैन। अर्कोतर्फ १०० रुपैयाँसम्मको रकम दिनमा जति पटक ट्रान्सफर गरे पनि त्यसको कुनै चार्ज लाग्दैन। तर, ठूलो कारोबार पनि गर्ने र दिनमा तीन पटक भन्दा धेरै कारोबार पनि गर्नेलाई मात्रै शुल्क लाग्ने सेवा प्रदायकहरूको निर्णय छ।

भुक्तानी सेवा प्रदायकका एक जना अधिकारी डिजिटल वालेटको मर्म विपरीत हुने कारोबारलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको बताउँछन्। ‘भुक्तानी सेवा प्रदायक भनेको डिजिटल वालेट हो। पर्सबाट पैसा निकालेर सानो सानो कारोबार गरेजस्तै यसबाट कारोबार गर्ने हो, जुन सानो सानो अमाउन्टमा हुन्छ, ठूलो अमाउन्टमा भए पनि दिनमा एक/दुई पटक हुन सक्छ,’ ती अधिकारी भन्छन्, ‘तर यहाँ त वालेटबाटै व्यावसायिक कारोबार नै सञ्चालन हुने गरेको पाइयो। त्यसलाई निरुत्साहित गर्न अहिलेको व्यवस्था गरिएको हो।’

सर्वसाधारणलाई असर नपर्ने 
अहिले गरिएको व्यवस्थाले सामान्य भुक्तानी गर्ने सर्वसाधारणलाई असर नगर्ने ती अधिकारीको दाबी छ। उनका अनुसार एक दिनमा तीन पटकसम्म जतिसुकै ठूलो रकम ट्रान्सफर गरे पनि कुनै चार्ज नलाग्ने र सानो अमाउन्टमा जति पटक पनि कारोबार गर्न सकिने भएकोले यसबाट कुनै शुल्क नतिरेरै सेवा लिन सकिन्छ। 

तर, यदि कसैले तीन पटक भन्दा धेरै कारोबार पनि गर्छ र त्यस्तो कारोबार १०० रुपैयाँभन्दा बढी पनि हुन्छ भने त्यस्तो कारोबारमा १० रुपैयाँ शुल्क तिर्न अप्ठ्यारो नहुने उनको भनाइ छ।

सरकारले बजेटमार्फत डिजिटल सेवाप्रदायकहरूको कारोबारलाई भ्याट छुटको दायराबाट हटाएर सेवा शुल्कका आधारमा १३ प्रतिशत भ्याट लिने व्यवस्था गरेको थियो। यो अवस्थाका कारण यस्ता सेवा प्रदायकले अहिले लाग्दै आएको शुल्कमा भ्याट तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।

शुल्क नलिएको अवस्थामा भ्याट नलाग्ने भए पनि अहिले लिँदै आएको शुल्कमा भ्याट तिर्दा ती सेवा प्रदायकको आम्दानी घट्ने अवस्था आएको छ।

अहिले नेपालमा ९ वटा भुक्तानी सेवा सञ्चालक (पीएसओ) र २६ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) ले अनुमति पाएका छन्। त्यसमध्ये ईसेवा, खल्ती, आईएमई पे लगायतका सेवा प्रदायकका डिजिटल वालेटहरूको प्रयोग सबैभन्दा धेरै हुँदै आएको छ।

नेपाल राष्ट्र बैङ्कको नियम अनुसार अहिले एउटा वालेटबाट अर्को वालेटमा दिनको ५० हजार रुपैयाँसम्म पैसा पठाउन पाइन्छ। प्राकृतिक व्यक्तिको वालेटबाट सो सीमा नबढ्ने गरी एक दिनमा १० पटकसम्म कारोबार गर्न पाइन्छ। वालेटबाट बैङ्कमा रकम ट्रान्सफर गर्न १० रुपैयाँसम्म शुल्क लिन पाउने राष्ट्र बैङ्कको व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ