arrow

चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
Tanahun_District.png

तनहुँ । पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका-५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो ।

घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले डेढ वर्षपछि बन्दीपुरमा पुनः चितुवा आक्रमण भएकाले स्थानीयवासी त्रसित बनेको बताए ।

उनले भने, “पछिल्लो समय चितुवा आतङ्क थिएन, डेढ वर्षपछि पुनःआक्रमण भएर बच्चाको मृत्यु भयो । स्थानीयवासी त्रसित छन् ।” साँझ र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराइएको थापाको भनाइ छ ।

डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका-४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका-२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका-२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका-१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका-२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका-३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका-१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका-४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका-२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

यसैगरी विसं २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका-१ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका-१२ छिर्कनेमा पाँच वर्षीय अरविन कुँवरको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको सहायक वन अधिकृत पण्डितको भनाइ छ । चितुवाको आक्रमणबाट मृत्यु भएका प्रत्येकका परिवारलाई रु १० लाख राहत उपलब्ध गराउने प्रावधान रहेको छ ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न उनले आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ