arrow

वार्षिक नाफा -घाटा

बजारको मन्दीले बीमा क्षेत्रलाई छोएन, २६ प्रतिशतले बढ्यो व्यापार

दुई कम्पनीको व्यापार खस्किँदा ६ वटामा चमक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
non-life-insurance-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा झण्डै ४१ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । बीमा शुल्कको कुल कारोबारको रुपमा रहने कुल बीमाशुल्क यो आर्थिक वर्षमा ४१ अर्ब १७ करोड रुपैयाँ पुगेको हो । यो ८ अर्ब ४९ करोड रुपैयाँ वृद्धि हो ।   

अघिल्लो आर्थिक वर्षमा सञ्चालित कुल बीमा कम्पनीहरुको बीमाशुल्क ३२ अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । सो आधारमा यस वर्षको कुल व्यवसाय झण्डै २६ प्रतिशत बढी हो । यो वर्ष बीमा कम्पनीहरुले ६ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको बीममा गरेको बीमा प्राधिकरणले जनाएको छ । 

यो वर्ष युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीको व्यापार घटेको छ । ओरेन्टियल, सानिमा जीआईसी, हिमालयन एभरेष्ट, नेशनल इन्स्योरन्स, आईजीआई प्रुडेन्सियल, प्रभु इन्स्योरेन्स लगायत कम्पनीको व्यापार चम्किएको छ । ती सबैको व्यापार ३० प्रतिशत भन्दा धेरैले बढेको छ । 

यो वर्ष सबैभन्दा बढी व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले एक वर्षको अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष उक्त कम्पनीले ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क थियो । यो अघिल्लो वर्षको भन्दा २३.७५ प्रतिशत बढी हो । 

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७८ करोडको व्यवसाय गरेको छ । अघिल्लो वर्ष उक्त कम्पनीले ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । सगरमाथाको यो वृद्धि २८.१५ बराबर हुन आउँछ । 

यो अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ६४ करोड रुपैयाँ रहेको बीमाशुल्क यो वर्ष ५३ करोडले बढेको हो । यो १४.१६ प्रतिशतको वृद्धि हो । 

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यो अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ । अघिल्लो वर्ष यस्तो व्यापार २ अर्ब ४९ करोड रुपैयाँ बराबर रहेको थियो । यो वर्ष हिमालयनले ४९.३९ वृद्धि हासिल गरेको छ । 

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यो वर्ष ३ अर्ब ६५ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष आईजीआई र प्रुडेन्सिसियल नामका छुट्टाछुट्टै कम्पनीले २ अर्ब ७० रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । प्रुडेन्सियलको व्यापारमा यो वर्ष ३५.१८ वृद्धि भएको छ । 

नेको इन्स्योरेन्सको बीमाशुल्क पनि ३ अर्बभन्दा माथि नै रहेको छ । उक्त कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । यो बीमाशुल्क अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँ बराबर रहेको थियो । नेकोले यो वर्ष २८.१६ बराबर बीमाशुल्क बढाएको छ । 

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सले यो अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो वर्ष युनाइटेड र अजोडले छुट्टाछुट्टै गरी २ अर्ब ८६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । कम्पनी मर्जर भएपछि यो व्यापार ४.८९ प्रतिशतले घटेको देखिएको छ ।

सानिमा जीआईसीले एक वर्षको अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो वर्ष यस्तो व्यापार १ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो । यो वृद्धि ४३.४० बराबर हुन आउँछ । 

त्यस्तै, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमाशुल्क हासिल गरेको थियो । एनएलजीको यो व्यवसाय अघिल्लो वर्षको तुलनामा २८.७८ प्रतिशतल बढी हो । 

भारतीय कम्पनीको शाखाको रुपमा स्थापित ओरेन्टियल इन्स्योरेन्सले यो अवधिमा २ अर्ब १६ करोड रुपैयाँको बीमाशुुल्क संकलन गरेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । यो वर्षको ओरेन्टियलको कारोबार वृद्धि ८६.२० बराबर हुन आउँछ । 

बाँकी चार कम्पनीको बीमाशुल्क भने २ अर्बभन्दा कम छ । ती कम्पनीहरुमा प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनी रहेका छन् । 

प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष सो कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । यो वर्ष उक्त कम्पनीको व्यापार ३९.३७ प्रतिशतले बढेको छ । 

नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी दुवैले यो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल इन्स्योरेन्सले अघिल्लो वर्ष १ अर्ब २७ करोडको व्यापार गर्दा राष्ट्रिय बीमा कम्पनीको व्यापार २ अर्ब २ करोड रुपैयाँ रहेको थियो । नेपाल इन्स्योरेन्सको व्यापार २५.९१ प्रतिशतले बढ्दा राष्ट्रिय बीमा कम्पनीको २१.२८ प्रतिशतले घटेको छ । 

यो वर्ष सबैभन्दा कम व्यापार गर्ने कम्पनी नेशनल इन्स्योरेन्स बनेको छ । यो कम्पनीले १ अर्ब १९ करोड बराबरको बीमाशुल्कमा बीमा गरेको छ । अघिल्लो वर्ष ८२ करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो ४४.३८ प्रतिशतको वृद्धि हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ