arrow

ग्लोबल आईएमई बैँकको नाफा छ अर्बमाथि, नाफा प्रतिशेयर  साढे १६ प्रतिशत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
global-ime-bank-building-fi.jpg

काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण अनुसार सो बैंकले यो अवधिमा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको हो । 

अघिल्लो वर्ष बैंकको खुद नाफा ६ अर्ब ६९ करोड रहेको थियो । बैंकले कमाएको उक्त नाफा हाल रहेको ३६ अर्ब १२ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १६.६५ प्रतिशत बराबर हो । 

यो वर्ष बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । १७ अर्ब १० करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १६ अर्ब ६३ करोड आम्दानी गरेको छ । त्यस्तै, शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष २ अर्ब ६ करोड रुपैयाँ रहेकोमा यो वर्ष २ अर्ब ६७ करोड पुगेको देखिन्छ । 

यो वर्ष बैंकको सबै प्रकारका खर्चहरुमा सामान्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब २३ करोड रहेको कर्मचारी खर्च बढेर ४ अर्ब ७२ करोडमा पुगेको छ । त्यस्तै अघिल्लो वर्ष १ अर्ब ८७ करोड रहेको सञ्चालन खर्च बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । 

उता इम्पेरिन्ट चार्जबापत बैंकले छुट्याउनु पर्ने रकम ३ अर्ब ३४ करोडबाट बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यी सबै कारणले बैंकको नाफामा सामान्य गिरावट आएको देखिन्छ । 

बैंकको वितरणयोग्य नाफा भने यो अवधिसम्म एक अर्ब १० रुपैयाँ बराबर रहेको छ । यो भनेको प्रतिशेयर ३.०६ रुपैयाँ बराबर हो । अघिल्लो वर्ष यो क्षमता प्रतिशेयर ९.०७ प्रतिशत रहेको थियो । 

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.३७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३.१५ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १२.५३ प्रतिशत, कस्ट अफ फण्ड ६.२१ प्रतिशत, बेसरेट ८.०९ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९९ प्रतिशत रहेको देखिन्छ । 

बैंकले यो अवधिमा ४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः ४ खर्ब २६ अर्ब र ३ खर्ब ५४ अर्ब रुपैयाँ थियो । 

अहिले बैंकको रिजर्भ कोषमा २३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ १६८.८१ रुपैयाँ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ